बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा कुन्ना क्षेत्रको समग्र विकासका लागि विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न उक्त कार्यक्रममा चार पालिकाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको अन्तर्क्रियालाई सम्बोधन गर्दै बुढिनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै भाईचाराको सम्बन्ध मजबुत बनोस् भन्दै सबैलाई हातेमालो गर्दै कुन्ना क्षेत्रका चार पालिकालाई समृद्ध बनाउने साझा प्रयास गर्नुपर्ने उल्लेख गर्नुभयो। “बाजुरा नेपालकै ७७ औं स्थानमा पर्छ, यस जिल्लालाई अगाडि बढाउन हामी सबै प्रतिबद्ध हुनुपर्छ,” उहाँले भन्नुभयो।
नगरप्रमुख बोहराले स्वास्थ्य सेवामा सुधार ल्याउन २५ सैयाको अस्पताल सञ्चालनका लागि आवश्यक कार्यविधि तयार पारिने जानकारी दिनुभयो। साथै, नागरिकता बनाउनकै लागि मार्तडीसम्म जानुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय तहमै सेवा उपलब्ध गराउने पहल भइरहेको बताउनुभयो।
कार्यक्रममा पर्यटन व्यवसायी तथा नागरिक अगुवा जनेश भण्डारीले पछाडि परेको पश्चिम क्षेत्रप्रति चिन्ता व्यक्त गर्दै साझा विकासका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। “बाटो काट्नु ठूलो कुरा होइन, सही बाटोमा हिँड्नु नै सकारात्मकता हो,” उहाँले भन्नुभयो।
वडा नं १ का वडाध्यक्ष मान बहादुर कार्कीले सन् २०५६ सालदेखि स्थापना भएका सरकारी कार्यालयहरूले प्रभावकारी सेवा दिन नसकेको उल्लेख गर्दै कुन्ना क्षेत्रको विकासका लागि सबै तह एउटै दिशा समातेर अघि बढ्नुपर्ने बताउनुभयो।
कार्यक्रममा केदारनाथ–बद्रीनाथको जस्तै पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको थियो। उद्योग वाणिज्य संघ कोल्टीका अध्यक्ष कासिराम थापाले खानेपानी तथा विद्युत समस्याको दीगो समाधान खोजिनुपर्ने धारणा राख्नुभयो।
बुढिनन्दा नगरपालिकाका पूर्व नगरप्रमुख पदम कुमार गिरीले नागरिकहरूलाई जिम्मेवार बन्नु आवश्यक रहेको उल्लेख गर्दै यस्तो कार्यक्रम सान्दर्भिक र उपयोगी रहेको बताउनुभयो।
कार्यक्रमको समापनमा नगर प्रवक्ता जंगबिर रोकायाले कुन्ना क्षेत्रका सबै पालिकाको सम्भावनालाई समेटेर विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याउँदै सबैलाई भावनात्मक रूपमा एकताबद्ध हुन आग्रह गर्नुभयो।
मनोरञ्जनात्मक झल्कोस्वरूप कार्यक्रमको बीचमा विभिन्न म्युजिक भिडियोहरू प्रस्तुत गरिएका थिए, जसले सहभागीहरूलाई थप उत्साहित बनाएको थियो।
शुभकामना आदानप्रदान गर्दै नेकपा एकीकृत समाजवादी बाजुरा जिल्ला अध्यक्ष पुर रावतले कुनै पनि कार्य सबैको सहभागिताले मात्रै सफल हुने बताउनुभयो। “एक जनाले दौडेर मात्र सम्भव हुँदैन, सबैको भूमिका बराबर हुन्छ,” उहाँले जोड दिनुभयो।
नगरप्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रदेशसभा सदस्य बलदेब रेग्मी हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल र स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया रहनुभएको थियो।
कार्यक्रम सञ्चालन संगीत प्रशिक्षक मोति सुनारले गर्नुभएको थियो।