बाजुरा, “पैसा जीवन जिउने साधन हो, तर पैसा नै जीवन होइन” भन्ने सन्देशका साथ बाजुराको जगन्नाथ गाउँपालिका–१, पिलुचौरस्थित होटल कैलासको सभाहलमा मेरो माइक्रोफाइनान्स लघुवित्तीय संस्था लिमिटेड द्वारा आयोजित वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
पिलुचौर शाखा कार्यालयको आयोजनामा सम्पन्न एकदिने गोष्ठीमा वित्तीय अनुशासन, सोचको परिवर्तन र आर्थिक आत्मनिर्भरता विषयमा सहभागीहरूलाई सशक्त सन्देश दिइएको थियो।
कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक उदयराम देवकोटाले गर्नुभएको थियो। प्रमुख अतिथि जगन्नाथ गापा वडा नं. २ का अध्यक्ष धनिवर सार्की, विशिष्ट अतिथि प्रदेश ५, ६, ७ का प्रमुख तर्क रावल, र अतिथि अमरगढी अनुगमन अधिकृत रमेश धामीजस्ता विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा संस्थाको आर्थिक प्रगति र सामाजिक जिम्मेवारीमाथि गम्भीर छलफल गरियो।
शाखा प्रमुख देवकोटाले संस्थाको प्रगतिबारे जानकारी दिँदै २०७८ सालमा स्थापना भएको पिलुचौर शाखाले हालसम्म देशभर १४९ शाखामार्फत १ लाख ६० हजारभन्दा बढी परिवारलाई सेवा दिँदै १३ अर्ब ५० करोडभन्दा बढी कर्जा प्रवाह तथा ३ अर्ब ३० करोडभन्दा बढी बचत संकलन गरिसकेको जानकारी दिनुभयो।
केन्द्र नं. ४६ की प्रगति अधिकारीले विगतमा महिलाहरू साहुबाट अत्यधिक ब्याजमा ऋण लिन बाध्य भएको अवस्थामा अहिले आत्मनिर्भर बनेको बताउँदै महिला उद्यमशीलताको विकासप्रति खुसी व्यक्त गर्नुभयो। उहाँले समयमै किस्ता तिर्ने, बचत गर्ने र आर्थिक अनुशासनमा लाग्न सबैलाई आह्वान गर्नुभयो।
स्वामीकार्तिक खापर गापाका प्रवक्ता शिह धामीले संस्थाको योगदानबाट स्थानीयस्तरमा सकारात्मक परिवर्तन आएको भन्दै ऋण लिएपछि यसको सदुपयोग गरी आधुनिक व्यवसायतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो।
प्रदेश प्रमुख रमेश बहादुर धामीले भन्नुभयो, “पैसाको सदुपयोग गर्न नसक्नेले आत्मनिर्भर बन्न सक्दैन। आफ्नो नाममा ऋण लिएर अरूलाई चलाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ।” साथै उहाँले खर्च व्यवस्थापन र नियमित बचतको महत्त्वमा पनि जोड दिनुभयो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा सहभागीहरूलाई ‘बचत कसरी गर्ने?’ भन्ने विषयमा भिडियो प्रोजेक्टमार्फत सचेतना प्रदान गरिएको थियो। उत्कृष्ट केन्द्रका महिलाहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरी सम्मानित गरियो।
सहायक कर्मचारी जीवन बहादुर शिंहका अनुसार, मन भएर पनि धन नभएका व्यक्तिहरूका लागि यो संस्था आशाको किरण बनेको छ।
कार्यक्रममा सामुदायिक रेडियो बुढिनन्दाका कार्यक्रम संयोजक सन्तोष प्रसाद जोशी, प्रहरी सहायक निरीक्षक नवल शिह भाट, केन्द्रीय तथा क्षेत्रीय कर्मचारी र संस्थामा आबद्ध महिलाहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रम सञ्चालन पनि सहायक कर्मचारी जीवन बहादुर शिंहले गर्नुभएको थियो।
‘बचत योजना तयार गरौं, खर्चको बानी सुधारौं’ भन्ने सन्देशले सहभागीहरूलाई भावनात्मक रूपमा छोएको र व्यवहारिक जीवनशैलीमा परिवर्तन ल्याउने प्रेरणा मिलेको अनुभव सहभागीहरूले व्यक्त गरे।
https://myteana.ru/forums/index.php?autocom=gallery&req=si&img=6607