
सन्तोष प्रसाद जोशी, मुगु
बैशाख २० गते, शनिबारको दिउँसो करिब २:३० बजेको थियो। घामको किरण सल्लाघारीमा हल्कै छायाँ फिँजाउँदै थियो। हामी केही साथीसँग उकालो लाग्यौं— थकाइ थियो, तर त्यो थकाइभित्रै पनि एक अनौठो उत्साह लुकेको थियो। हरेक पाइला जति अगाडि बढ्थे, मनभित्र रोमाञ्च झन् बलियो हुँदै गइरहेको थियो। करिब १५ मिनेटको पैदल यात्रा पछि हामी एउटा हरियालीले ढाकिएको सुन्दर चौरमा पुग्यौं— त्यो थियो पोग्री चौर।
जुन क्षण चौरको पहिलो झलक आँखामा पर्यो, त्यही क्षण मेरो हृदयले त्यो स्थानलाई विशेष स्थान दिइसकेको थियो। चारैतिर हरियाली, टाढा-टाढाका डाँडाबाट देखिने रमणीय दृश्य, अनि हावामा मिसिएको कर्णालीको देउडा भाका— यस्तो लाग्थ्यो, मानौं यो कुनै चित्रकारले रंग भरेर बनाएको चित्र हो। नयाँ अनुहारहरू, नयाँ बोली, नयाँ हाँसो— सबैथोकले मलाई नयाँ भएर पनि अत्यन्त आफ्नोपनको अनुभूति दिइरहेको थियो।
चौरको बिचमा हामी ६/७ जना साथीहरू घुमिरहेका थियौं। मेलाको रमाइलो माहोल, खेल मैदानमा दौडिरहेका केटाकेटी, रंगीचंगी लुगा लगाएकी महिलाहरू, अनि गहना झिमिक्क्याउँदै हिँड्दा झन् त्यो दृश्य चमत्कारिक लागिरहेको थियो। त्यही बेला मेरो ध्यान एउटा सानी बालिकातिर गयो— करिब ७/८ वर्षकी, दौरा-सुरुवाल र घागर लगाएकी। लाजले उसले मुन्टो घोप्ट्याएकी थिई, तर उसको आँखामा देखिएको आत्मगौरव स्पस्ट थियो। उसले बोलिन, तर उसको मौनताले धेरै कुरा भन्यो— “म यो संस्कृति हुँ, म यो ठाउँ हुँ।”
केही समयपछि एउटा साथीले भनिन् — “यहाँ रत्नबेसरा भन्ने महिला छन्, उनी राम्रो गीत गाउँछिन्।” हामी उनको खोजीमा लाग्यौं। बबिताले फोन गरिन्, र केही समयमै उनी आइपुगिन्। उनले सुरुमा लाज मानिन्, तर चौरको छेउमा पुगेर उनले गाएको गीत यस्तो मिठो थियो, लाग्थ्यो चराहरू पनि केहीबेर शान्त भएर उनलाई सुन्दै थिए। संगीत केवल आवाज होइन, त्यो त भावना हो— र त्यो दिन त्यो भावना उनले हामीलाई उपहार दिइन्।
अझ रमाइलो तब भयो जब अर्को जोडी भेट्यौं। युवतीको कपालमा सिरफुल सजिएको थियो— मैले पहिलोपटक सिरफुल देखेको थिएँ। उनको अनुहारमा शर्मीलोपन थियो, तर एउटा मधुर उज्यालो पनि। मैले उनका श्रीमान्सँग अनुमति मागेँ— “भिडियो खिच्न मिल्छ?” उनी मुस्कुराउँदै मन्द स्वरमा भने, “मिल्छ दाइ।” त्यसपछि त्यो जोडीले मिलेर गाएको गीत सुन्दा यस्तो लाग्यो— प्रेम केवल शब्दको कुरा होइन, त्यो त जीवनको संगीत हो।
यात्राको अर्को मधुर पक्ष एकजना बुढी आमासँगको कुराकानी थियो। उनी चौरको छेउमा थकाइ मेटाउँदै बसेकी थिइन्। मैले उनलाई सलाम गरेर कुरा सुरु गरेँ, र उनले सुस्तरी बोलिन्— “बाबु, यो पोग्री चौर हाम्रो इतिहास हो। बिउछोडाई मेलाको कथा पुस्तौंदेखि चल्दै आएको छ।” उनको आँखामा गौरव थियो। उनले सम्झाइन्— समुद्री सतहदेखि करिब २८ सय मिटरको उचाइमा रहेको यो चौर केवल जमिन होइन, यहाँको धड्कन हो।
म माटोमा बसेर त्यो वातावरण निहार्दै थिएँ। पसलहरूमा पानीपुरी, चटपट, चाउमिनको गन्ध हावामा मिसिएको थियो। हामी हाँस्दै, खाँदै, रमाउँदै थियौं— तर एक्कासि चर्को आवाज आयो। सबैजना चकित हुँदै त्यतैतिर दौड्यौं। थाहा भयो— एक युवतीलाई भगाएर विवाह गर्न खोजिएको रहेछ। केही प्रहरी पनि आइपुगे। वातावरण केहीबेर गम्भीर बन्यो। तर त्यो घटनाले मलाई पोग्री चौरको अर्को यथार्थ देखायो— जहाँ परम्परा र विद्रोह, प्रेम र प्रतिरोध एकसाथ बाँचेका छन्।
केही समयपछि स्थिति शान्त भयो। मावल पक्षले युवतीलाई फिर्ता ल्यायो। हामी फेरि हाँस्न थाल्यौं, फेरि रमाउन थाल्यौं— मानौं त्यो घटनाले पनि हामीलाई जीवनको विविधता सम्झाइदियो। पोग्री चौरको त्यो एक दिनमा मैले केवल मनोरञ्जन होइन, संस्कार, परम्परा, र संघर्षका रंगहरू देखेँ।
करिब ३:४५ बजेको थियो— स्टाफले बोलाए, हामी फर्कनु पर्यो। ओरालो लाग्दा करिब ८ मिनेटमै तल पुग्यौं। बाटोभरि म मौन थिएँ, तर मनभित्र आवाजको कोलाहल थियो— खुशीको, भावुकताको, स्मृतिको। त्यो केही घण्टा जति लाग्ने यात्राले जीवनभर बाँकी रहने याद दिएको थियो।
आज पनि म जब त्यो दिन सम्झिन्छु, आँखाभरि त्यो दृश्य ताजै आउँछ। त्यो चौर, त्यो हावा, ती गीतहरू, ती अनुहारहरू— सबै मेरो स्मृतिको रंगीन पानामा अमिट भएर बसेका छन्। पोग्री चौरले मलाई केवल रमाइलो मात्रै दिएन, उसले आत्मीयता, पहिचान, र संस्कृतिको सुगन्ध पनि बोकेर पठायो— जुन म जीवनभर महसुस गरिरहनेछु।