बाजुरा —
शुक्रबार दिउँसोको एक सामान्य जस्तै लाग्ने दिन, बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा एकाएक ठुलो विस्फोट भयो।
४:५५ बजे, नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भएपछिको त्यो आवाजसँगै बजारको शान्ति चिर्दै आगोले पूरै क्षेत्र कब्जा गर्यो।
मिनेटौंभित्र आगोले बाम्काको मुटु जलाइदियो।
बजारको मुख्य भागमा रहेको नवदुर्गा होटलबाट सुरु भएको त्यो भिषण आगलागीले ४० बढी वटा पसलहरू पूर्ण रूपमा खरानीमा परिणत गरिसकेको छ। पसल मात्र होइन, तिनमा भरिएको पसिनाको कमाई, परिवार पाल्ने भर, र जीवनका सपना पनि त्यहीँ जलिसके।”मैले पसल बनाएको आठ वर्ष भयो, आज सबै गयो,” एक स्थानीय व्यापारीको स्वर सुनिन्थ्यो —
भक्कानो थाम्न खोजेपनि डबडबाएका आँखा र धुवाँले ढाकिएको आकाशले त्यो दु:ख छिपाउन सकेन।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव बहादुर चौधरीको कमाण्डमा खटिएको ३२ जनाको टोली, मातहतका सुरक्षाकर्मीहरू, र बासिन्दाहरू मिलेर आगो नियन्त्रणको प्रयासमा जुटिरहेका छन्। तर काठ, टिन र प्लास्टिकका संरचनाले बनेका ती पसलहरूमा आगो फैलिन झन सजिलो भएको थियो।
स्थानीयवासीहरू बाल्टीन, ड्रम, माटो, र नाङ्गो हातमै पानी बोकेर आगो निभाउने प्रयास गरिरहेका छन्। कोही सटर फुटाएर सामान निकाल्ने प्रयासमा छन्, त कोही एक-अर्कालाई सम्हाल्दै। जहाँ जीवनभरको पूँजी एकैछिनमा खरानी बन्छ।
हालसम्म मानवीय क्षतिको कुनै पुष्टि नभए पनि आर्थिक क्षति करोडौंको हुन सक्ने अनुमान गरिएको छ। धेरै व्यापारीहरू र पसल धनीहरू अहिले खुला आकाशमुनि छन् — न पसल बाँकी छ, न सामान।
घटनास्थलमा प्रहरी, नेपाली सेना, र स्थानीय युवाहरूको सक्रियता उच्च छ। आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन, र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
बाजुरा जिल्लामा यति ठूलो आगलागी दुर्लभ मानिन्छ। स्थानीय बासिन्दाहरू अहिले आकाशतिर हेरेर एक अर्कालाई सोधिरहेका छन्