मुगु–सोरु गाउँपालिकामा १० लाख लागतमा एकीकृत सेवा केन्द्र सञ्चालनमा

अर्थ कर्णाली प्रदेश मुख्य समाचार

सन्तोष मुगु, असार २९ – कर्णाली प्रदेशको विकट जिल्ला मुगुको सोरु गाउँपालिकामा एकीकृत सेवा केन्द्र सञ्चालनमा आएको छ। गाउँपालिकाको लगानीमा करिब १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो सेवा केन्द्रबाट अब स्थानीय बासिन्दाले विविध सरकारी सेवा एकै छानामुनि सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।

गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार अबदेखि नागरिकता सम्बन्धी काम, सामाजिक सुरक्षा कार्ड प्राप्ति, वडास्तरीय सिफारिस तथा विकास निर्माण योजना दर्ता जस्ता अति आवश्यक सेवाहरू एकै स्थानबाट उपलब्ध हुने छन्। अध्यक्ष शाहीले भन्नुभयो“यो केन्द्रबाट जनताको समय र स्रोतको बचत हुने अपेक्षा गरिएको छ। पहिले जस्तो सानो कामका लागि गाउँपालिका कार्यालयसम्म आउनुपर्ने झन्झट अब हट्नेछ।”

सेवा केन्द्रको औपचारिक शुभारम्भसँगै स्थानीय प्रशासनिक संयन्त्रले सेवा प्रवाहमा गुणस्तर, पारदर्शिता र जवाफदेहीता थपिएको बताएको छ। प्रमुख प्रशासकिय अधिकृत डा. अनुप श्रेष्ठले केन्द्र सञ्चालनमा आएपछि सेवा लिने जनताको गुनासो समयमै सम्बोधन गर्न सकिने छिटो प्रतिक्रिया प्रणाली पनि लागू गरिने जानकारी दिनुभयो।

“अब सेवाको लागि वडाबाट गाउँपालिका धाउनुपर्ने बाध्यता हट्नेछ। यसले प्रशासनिक कार्यमा गति ल्याउनेछ,” डा. श्रेष्ठले बताउनुभयो।

स्थानीय बासिन्दाहरूले पनि सेवा केन्द्रको स्थापना भएकोमा खुसी व्यक्त गरेका छन्। उनीहरूले सेवा केन्द्रमार्फत दैनिक कामकाज सहज, प्रभावकारी र जनमुखी हुने विश्वास लिएका छन्।

स्थानीय भन्छन् “पहिले नागरिकता सिफारिस वा सामाजिक सुरक्षा कार्डका लागि धेरैचोटि धाउनुपर्थ्यो, अब एकै ठाउँमा सबै काम सकिने भयो।”

सोरु गाउँपालिकामा सुरु गरिएको यो एकीकृत सेवा केन्द्र स्थानीय प्रशासनको क्षमता वृद्धि, सेवा प्रवाहमा पारदर्शिता र ग्रामिण क्षेत्रका नागरिकका लागि सुशासन प्रवर्द्धनतर्फ एक महत्वपूर्ण पाइला मानिएको छ।

Leave a Reply