सोरु गाउँपालिका २ मा अवस्थित महादेव बुढाकुरिल्ला सामुदायिक बन उपभोक्ता समूह र सोरु सबडिभिजन बन कार्यालयले संयुक्त रूपमा बन संरक्षणका लागि अभियान सञ्चालन गरेका छन । सामुदायिक वनमा अवैध रुपमा हुने विभिन्न क्रियाकलाप रोकथाम गरि सामुदायिक वनको संरक्षणका लागि सामुदायिक बन उपभोक्ता समूह र सबडिभिजन बन कार्यालयले सयूक्त रुपमा गस्ती अभियान सञ्चालन गरेका हुन ।
पछिल्लो समय नासिँदै गएको वन क्षेत्रको संरक्षणका लागि गस्ति टोली सञ्चालन गरिएको जनाईएको छ । बन क्षेत्रमा अवैध रूपमा खनजोत गरी कृषि कार्य गरिएको पाइएपछि सम्बन्धित निकायले कारवाहि गर्ने गस्ती टोलीले चेतावनि दिएको छ । सोरु सबडिभिजन बन कार्यालयका अनुसार समुदायको स्वामित्वमा रहेको बनक्षेत्रमा अनुमति बिना ब्यक्तिले भोकचलन गरेको भेटिएको गस्ती टोलीले जनाएको छ ।
बनउपभोक्ता समूहका अध्यक्ष जंग बहादुर शाहीले पछिल्ला केही वर्ष यता स्थानीयबासीलाई बन संरक्षण प्रति सचेत गराउँदै आए पनि नागरिक सचेत नभएको बताउनुभयो । नागरिकले सामुदायिक वन जथाभावीरूपमा अतिक्रमण गरी खेतीपाती गरिरहेको जानकारी दिनुभयो । २०८० सालदेखि निरन्तर बन संरक्षणमा लागे पनि वन दोहन प्रक्रिया रोक्न नसकिएको बताउनुभयो ।
सामुदायिक बन क्षेत्रलाई दिगो संरक्षण र सदुपयोग गर्ने लक्ष्यसहित सो समूहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर पनि अवैध गतिविधि दोहोरिरहँदा बन क्षेत्रको जैविक विविधता र पर्यावरणीय सन्तुलनमा असर पर्ने खतरा बढिरहेको उपभोक्ताको गुनासो छ ।
सोरु सबडिभिजन बन कार्यालयले भविष्यमा यस्ता गतिविधि दोहोरिएमा “वन ऐन २०७६“ बमोजिम कानुनी कारबाही गरिने चेतावनी दिएको छ । साथै, बनकार्यालय र उपभोक्ता समूहले वन रोकथामका लागि स्थानीयबासीलाई समेटेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, वैकल्पिक जीविकोपार्जनका उपाय विकास गर्ने तथा बन क्षेत्रको व्यवस्थापनमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गरिने योजना बनाउनु बताईएको छ ।

