उज्यालोले चम्कियो बाजुराको अति विकट गाउँ धिम

अर्थ बिशेष मुख्य समाचार सुदूरपश्चिम प्रदेश हिमाली गाउँपालिका

बाजुराको अति विकट मानिने हिमाली गाउँपालिकास्थित धिम गाउँमा पहिलोपटक बिजुली पुगेको छ। गाउँपालिकाकै ठूलो बस्तीमध्ये एक धिममा वर्षौँदेखिको स्थानीयको सपना पूरा भएको हो। कुवाडी खोलाबाट सञ्चालित लघुजलविद्युत् आयोजनाको सहयोगमा लाइन विस्तार भएपछि वडा नम्बर ६ मा पर्ने धिम गाउँ झिलिमिली बनेको छ।

बिजुलीको पहुँचसँगै धिम गाउँका २७३ घरधुरीका करिब १,४०० जनसंख्या लाभान्वित भएका छन्। पुस्तौँदेखि अँध्यारोमा बस्दै आएका स्थानीयहरू बिजुली बलेपछि अत्यन्तै उत्साहित छन्। स्थानीय बिर्ख सार्कीले बिजुलीको उज्यालोले गाउँमा नयाँ ऊर्जा भित्रिएको भन्दै खुसी व्यक्त गर्नुभयो।

यसअघि पनि हिमाली गाउँपालिकाले वडा नम्बर १ का देउसिना, बिच्छ्या, टिन, बल्लदेमाडु, तरिखोला, बामु, वडा नम्बर २ का कोटी, कोट, रुम्दी, नातीखोला र वडा नम्बर ३ का युना, बौडिलाई विद्युत् सेवा प्रदान गरिसकेको छ। त्यस्तै हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकाको मासपुर गाउँसम्म पनि बिजुली पुर्‍याइएको छ। यी स्थानहरूमा कूल ६८२ घरधुरीका ३,८६७ जना उज्यालोको पहुँचमा आइसकेका छन्।

वडा नम्बर ५ को क्युडी गाउँका १२० घरधुरीमा भने आगामी दसैँभित्र बिजुली बाल्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार ‘उज्यालो हिमाली’ बनाउने अभियान करिब ९५ प्रतिशत सम्पन्न भइसकेको छ भने बाँकी ५ प्रतिशत क्षेत्रमा पनि तीव्र गतिमा काम भइरहेको छ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, बिजुली र टेलिफोनलाई प्राथमिकतामा राखेर समग्र विकासको योजना अघि बढाइरहेको जनाएको छ। बिजुली पुगेसँगै अब धिम लगायतका गाउँहरूमा दिगो विकासको आशा पलाएको छ।

Leave a Reply