महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको प्रशंसा, बालबालिकाको खोप सुनिश्चिततामा जोड
सन्तोष प्रसाद जोशी कोल्टी “पूर्ण खोप, सुरक्षित भविष्य” भन्ने मूल नाराका साथ बुढीनन्दा नगरपालिकामा शुक्रबार एक विशेष समारोहका बीच पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगर उपप्रमुख रामबहादुर बोहराले पालिकाका दश वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकालाई अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो।
स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा उपप्रमुख बोहराले स्वास्थ्य क्षेत्र अति संवेदनशील रहेकोले महिला स्वास्थ्य स्वयंसेविकाहरूले इमानदारीपूर्वक पुर्याउँदै आएको सेवाको प्रशंसा गर्नुभयो। उहाँले बालबालिका मात्र नभई गर्भवती महिलाहरूको समेत निस्वार्थ सेवामा क्रियाशील रहेका स्वयंसेविकाहरूको योगदानलाई ध्यानमा राख्दै उनीहरूका लागि भत्ताको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुखले प्रस्तुत गरेको प्रतिवेदनमा खोप लगाउन छुटेका बालबालिकाको अवस्थाबारे जानकारी दिइएको थियो। उक्त सन्दर्भमा नगर उपप्रमुखले छुट भएका बालबालिकालाई खोप सुनिश्चित गर्न आवश्यक रणनीति अपनाउन आग्रह गर्नुहुँदै, आगामी वर्ष यस्ता घटना नदोहोर्याउन निर्देशन दिनुभयो।
फरक प्रसंगमा बोल्दै उपप्रमुख बोहराले नगर सरकारप्रति उत्तरदायी रहन कर्मचारीहरूलाई आह्वान गर्नुभयो। जनताको सेवा गर्नु पर्ने कर्मचारीहरू पदीय मर्यादामा रहेर कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। नगर सरकारविरुद्ध लाग्ने तथा जनप्रतिनिधिका विरुद्ध अभिव्यक्ति दिने कर्मचारीहरूलाई संरक्षण नहुने स्पष्ट गर्दै सुधार गर्न चेतावनी दिनुभयो।
घोषणा कार्यक्रममा वडा नं. २ का अध्यक्ष नन्दराम गिरी, वडा नं. ३ का अध्यक्ष जंगवीर रोकाया, वडा नं. ६ का अध्यक्ष गजेन्द्रबहादुर सिंह र वडा नं. १० का अध्यक्ष नन्दबहादुर रोकायाले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरू, वडा अध्यक्षहरू, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। स्वास्थ्य शाखा संयोजक ओमजंग शाहीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।