बाजुराका दुई गाउँपालिका, खप्तड छेडेदह र हिमाली गाउँपालिकाले एम्बुलेन्स उपहार स्वरूप पाएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा नेपालस्थित भारतीय दूतावासले खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो। एम्बुलेन्स खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विष्णुदेवी नाथ र हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्लले ग्रहण गर्नुभयो।
उपाध्यक्ष नाथले नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स प्राप्त भएको जानकारी दिनुभयो। गाउँपालिकामा जनताको पहिलो प्राथमिकता एम्बुलेन्स रहेको उल्लेख गर्दै उहाँले लामो समयदेखि गरिएको पहलपछि अब आएर एम्बुलेन्स उपलब्ध भएको बताउनुभयो। उहाँका अनुसार काठमाडौं महानगरपालिकाबाट अर्को एम्बुलेन्स पनि उपलब्ध हुने प्रक्रियामा रहेको छ।
त्यस्तै, हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्लले पनि लामो समयको प्रयासपछि गाउँपालिकाले एम्बुलेन्स पाएको बताउनुभयो। उहाँले पालिकाले यसअघि नै एक वटा एम्बुलेन्स सञ्चालनमा ल्याइसकेको जानकारी दिनुभयो।