काठमाडौँ, असार १ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताउनु भएको छ । राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक पाँचदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल बुद्ध र वेदभूमि भएको बताउनु भयो।
उहाँले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्र भएको स्पष्ट पार्नु भयो।
उहाँले नेपालको परिचय बुद्ध भएको बताउनु हुँदै भन्नु भयो, “हाम्रो परिचय बुद्ध हुन्। विश्व शान्तिको बाटोमा जाँदा विश्वले नेपाललाई सम्झिन्छ।”
सरकार संस्कृति र सभ्यताको विकास तथा विस्तारमा प्रतिबद्ध रहेको बताउनु हुँदै मन्त्री पाण्डेले नीतिनियम धर्म र संस्कृति फैलिने खालको बनाइने बताउनु भयो। सरकारले धर्म र संस्कृतिमाथि असर पार्ने कुनै कार्य नगर्ने स्पष्ट पार्नु भएको थियो।
उक्त प्रशिक्षण कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुने जानकारी दिइएको छ। कार्यक्रममा करिब सात सय बौद्ध धर्मगुरुहरूको सहभागिता रहेको बताइएको छ।

