भूमि पूजाको सन्देश विश्वव्यापी हुन आवश्यक छ : मन्त्री पाण्डे

कला साहित्य बागमती प्रदेश मुख्य समाचार

काठमाडौं, असार १— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले भूमि पूजाको महत्व विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

आइतबार राजधानीमा मगर समुदायले मनाउने भूमे पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भन्नुभयाे, “भूमि हाम्रो जननी हो, आमा हो। यो केवल पुरातन मान्यता होइन, वैज्ञानिक आधारसमेत भएको विषय हो।”

उहाँले भूमिको संरक्षणले जलवायु परिवर्तनका विश्वव्यापी असरहरूबाट मानव जातिलाई जोगाउन सक्ने स्पष्ट पार्नुभयो। “पृथ्वी असन्तुलनमा जाँदैछ भन्ने चिन्ता बढ्दो छ, र मानव समाज संकटमा पर्न सक्ने खतरा देखिँदैछ,” मन्त्री पाण्डेले थप्नुभयो।

मन्त्री पाण्डेले मगर समुदायको परम्परागत ज्ञान र आचरणले भूमिलाई क्षति नपु¥याउने उदाहरण प्रस्तुत गर्दै यस्ता अभ्यासहरूलाई विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभयो।

“भूमि पूजाले जलवायु परिवर्तनको विरुद्ध सकारात्मक सन्देश दिन्छ। यसमा प्रकृति पूजाको पक्ष पनि जोडिएको छ, जसले जल, जंगल, जमिन र स्वच्छ वायुको संरक्षणको संदेश दिन्छ,” उहाँले भन्नुभयो।

मन्त्री पाण्डेले संस्कृति मन्त्रालयद्वारा संस्कृतिक पर्वहरूको सूचीकरण र व्यवस्थापन कार्यविधि पारित भइसकेको जानकारी गराउँदै भूमे पर्वलाई पनि सूचीकरण गरिने विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply