हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औलवस्तिमा भीषण आगलागी भएको छ। आइतबार राति करिब ११ बजेदेखि सुरु भएको आगलागी सोमबार बिहान बजेसम्म पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगोले आठ वटा घरहरू पूर्णरूपमा जलेर नष्ट भएका छन्। धनबहादुर रावत, जनक रावत, विजन फडेरा, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेराको घरसमेत जलेको हो। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।
घटनास्थलमा सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वमा खटिएको टोली राति २ बजे पुगेको थियो। अहिले पनि स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूको सहकार्यमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुडा, नगद, नागरिकता, लालपुर्जा लगायत सम्पूर्ण कागजातहरू समेत जलेर नष्ट भएका छन्। पीडित धनबहादुर रावतका अनुसार आफ्नै घरमा रहेको दुई लाख २० हजार रुपैयाँ नगदसमेत जलेको छ। उनले दुखेसो गर्दै भने, “खुट्टामा लगाउने चप्पलसम्म जलेर नष्ट भएको छ, भएको सम्पत्ति सबै सकियो।”
सौभाग्यवश, मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। स्थानीयको सक्रियता र सुरक्षाकर्मीको प्रयासमा आगलागी नियन्त्रणको प्रयास तीव्र पारिएको छ।