बाहुनीमा उत्पादन भएको प्याज ढुवानी र बजारीकरणमा समस्या

अर्थ मुख्य समाचार स्वामीकार्तिक खापर गाउँपालिका

सन्तोष प्रसाद जोशी बाजुरा

स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ स्थित बाहुनीका किसानहरू ‘दलित एकता कृषक समूह’ मार्फत स्थानीय स्तरमै कृषि उत्पादनमा सक्रिय बन्दै गएका छन्। हालै मात्र समूहले करिब ३०० क्वीण्टल अर्गानिक प्याज उत्पादन गरी  बजारमा पुर्‍याउने लक्ष्य राखेको छ ।उत्पादन भएको ठाउँबाट  मंगलबार पालिकाको केन्द्र सुईजिउलामा झारिएको हो ।

तर, उत्पादन बढेसँगै किसानले ढुवानी र बजार व्यवस्थापनमा गम्भीर चुनौती खेप्नु परेको छ। ढुवानीकर्ता विरभान विक का अनुसार, बाहुनीदेखि पिलुचौरसम्मको अफ्ट्यारो  सडकको अवस्थाले ढुवानी कठिन बनाएको छ। त्यसैगरी, पिलुचौरदेखि जगन्नाथसम्मको बाटोमा बेलीबृजको अभाव भएकाले ढुवानी खर्च अत्यधिक बढी भएको बताउनुभयो ।

उत्पादन बिक्रीमा अर्को ठूलो समस्या छ नै बजारमा भारतबाट आउने रसायनयुक्त प्याजले गर्दा। “हामीले अर्गानिक प्याज उत्पादन गरेका हौं, तर भारतीय प्याजको सस्तो दर र केमिकल प्रयोगका कारण हाम्रो प्याजले उचित मूल्य पाउँदैन,” विकले दुखेसो पोख्नुभयो।

किसानहरूलाई हतोत्साहित हुन नदिने गरी गाउँपालिकाले सहजीकरण गरिरहेको छ भने, रिरास परियोजना (लिवड) र कृषि ज्ञान केन्द्र समेत आवश्यक सहयोग भईरहेको बिक बताउनुहुन्छ।

स्थानीय उत्पादनको प्रोत्साहन र किसानको परिश्रमको उचित मूल्य सुनिश्चित गर्न ढुवानी सहज बनाउने, बेलीबृज निर्माण गर्ने र बजार व्यवस्थापनमा कठिनाई, सिचाइ सुविधाको अभावले कठिनाई झेलीरहेपनि यहाँका किसानले लगातार उत्कृष्ट उपलब्धि हासिल गरिरहेका छन्

गएको बर्ष मात्रै वडा नं १ बाहुनीमा साढे ६ टन अर्गानिक प्याज उत्पादन भएको थियो।गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया का अनुसार, “स्वामीकार्तिक खापर कृषि सम्भावनाले भरिएको क्षेत्र हो। यहाँका माथिल्लो क्षेत्रहरूमा स्याउ, ओखर, टमाटर, आलुजस्ता उपज फस्टाउँदै छन् भने तल्लो क्षेत्रमा प्याज, तरकारी र फलफूलले किसानको जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ।”

गत साल ढुवानीमा खर्च कम गर्न गाउँपालिकाले बाहुनीदेखि पिलुचौरसम्म रु. २० हजार अनुदान दिएको थियो भने, पिलुचौरदेखि सुर्खेत–नेपालगन्जसम्मको ढुवानी ‘कृषि ज्ञान केन्द्र’ को आर्थिक सहयोगमा ढुवानी भएको थियो।

भौगोलिक रूपमा विकट भए पनि जोरु, लोथी, जेवाल्या, सैदेव, मुसैलापानी, टुङ्नी जमलधारा लगायतका क्षेत्रमा स्याउ, ओखर र अन्य फलफूल तथा तरकारीको उत्पादन हुँदै आएको छ। किसानको परिश्रम, गाउँपालिकाको समन्वय र विभिन्न संस्थाको सहकार्यले गर्दा स्वामीकार्तिक अब कृषि पकेट क्षेत्रका रूपमा उदाउँदै गएको छ।

अध्यक्ष रोकायाले थप भन्नुभयो, “आत्मनिर्भर गाउँपालिका बनाउने हाम्रो लक्ष्य हो। कृषि बजेट र सहजीकरणमार्फत कृषकको जीवनस्तर उकास्न सबैको चासो र लगाव अपरिहार्य रहेको बताउनुभयो।

Leave a Reply