बाजुराको जगन्नाथमा १० शय्याको अस्पताल सञ्चालनमा, जनशक्ति र उपकरण अभाव
बाजुरा– दुर्गम जिल्ला बाजुराको जगन्नाथ गाउँपालिकामा १० शय्याको अस्पताल सञ्चालनमा आएको छ। ‘एक स्थानीय तह, एक अस्पताल’ नीति अन्तर्गत निर्माण गरिएको सो अस्पताल गाउँपालिकाकै पहलमा सञ्चालनमा आएको हो।
गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीका अनुसार बाजुराका ९ स्थानीय तहहरूमध्ये सबैभन्दा पहिला अस्पताल निर्माण गरी सेवा सुरू गर्नेमा जगन्नाथ गाउँपालिका अगाडि देखिएको छ। तर, अस्पताल सञ्चालन भए पनि चिकित्सक, जनशक्ति र आवश्यक उपकरणको अभाव रहेको अध्यक्ष शाहीले बताउनुभयो ।
हाल अस्पतालमा चिकित्सक नहुञ्जेल हेल्थ असिस्टेन्ट र स्टाफ नर्सहरूकै भरमा सेवा प्रवाह भइरहेको छ। अस्पतालमा २ जना एमबीबीएस चिकित्सकसहित २२ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको भए पनि अधिकांश पदहरू खाली रहेका उहाँले बताउनुभयो ।
कोरोना महामारीका बेला गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालमार्फत संकलित अनुभव र स्रोतको प्रयोग गरी अहिले पनि केही कर्मचारीहरू करारमा पुनः सेवामा लगाइएको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीले जानकारी दिनुभयो।
करीब ११ करोड ७८ लाख रुपैयाँको लागतमा निर्माण भएको यो अस्पताल २०७८ साल जेठ १ गते खड्कापूर्णा जेबी निर्माण सेवा, सुर्खेतसँग सम्झौता गरी निर्माण कार्य थालिएको थियो।
अस्पताल सञ्चालनमा आएपछि केवल जगन्नाथ गाउँपालिकाका बासिन्दामात्र होइन, स्वामीकार्तिक खापर गाउँपालिका र वरपरका वासिन्दालाई समेत ठूलो राहत मिलेको छ। अघिसम्म सामान्य उपचारका लागि समेत सदरमुकाम मार्तडी धाउनु पर्ने बाध्यता हटेको स्थानीयवासी बताउँछन्।