अदानचुलीका तीन कार्यालयलाई नेपाल टेलिकमको मोबाइल मल्टिचार्जर सहयोग

कर्णाली प्रदेश मुख्य समाचार समाज


सन्तोष प्रसाद जोशी

हुम्ला — अदानचुली गाउँपालिकाका तीनवटा सरकारी कार्यालयले नेपाल टेलिकम केन्द्रीय कार्यालय, भद्रकालीको सहयोगमा मोबाइल मल्टिचार्जर प्राप्त गरेका छन्। सञ्चार सुविधा सहज बनाउन र विद्युत अभावका बीच पनि कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले टेलिकमले गाउँपालिकामा सहयोग गरेको हो।

यस सहयोग अन्तर्गत अदानचुली गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, वडा नं. ५ को वडा कार्यालय तथा वडा नं. ४ को वडा कार्यालयलाई जनही १/१ थान गरी तीन थान मोबाइल मल्टिचार्जर वितरण गरिएको हो। मोबाइल सेवा पहुँच नपुगेका तथा लोडसेडिङको समस्या हुने दुर्गम क्षेत्रमा कार्यरत सरकारी कार्यालयहरूलाई लक्षित गर्दै टेलिकमले यो पहल अघि बढाएको बताइएको छ।

मोबाइल मल्टिचार्जरको उपलब्धताले कार्यालयहरूमा आपतकालीन वा नियमित सम्पर्कका लागि प्रयोग गरिने मोबाइल तथा अन्य साना उपकरणहरू चार्ज गर्न सहज हुनेछ। अदानचुली गाउँपालिकाको भौगोलिक अवस्थिति अत्यन्तै विकट छ। अधिकांश ठाउँमा नियमित विद्युत आपूर्ति छैन। त्यसमाथि पनि संचारको पहुँच सिमित रहेको अवस्था छ। यस्तो सन्दर्भमा मोबाइल चार्जर जस्ता साना प्रविधिहरूले पनि कार्यालय सञ्चालन र जनसेवामा सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।

अदानचुली गाउँपालिकाका वडा नं ५ का अध्यक्षले नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले स्थानीय प्रशासनलाई प्रभावकारी सेवा दिन हौसला मिलेको बताउनुभयो।  अदानचुलिकाे बिकासकाे लागि निरन्तर पहलकदमी गर्ने  जयराजलाई विशेष धन्यवाद दिदै उहाँले कार्यालयमा आउने सेवाग्राहीसँग निरन्तर सम्पर्क राख्न र आवश्यक सूचनाको आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

नेपाल टेलिकमले आगामी दिनमा पनि सेवा विस्तारका साथै यस्ता प्रविधि पहुँचका निम्ति दुर्गम क्षेत्रमा सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ। यस्ता साना तर प्रभावकारी उपकरणले स्थानीय तहमा डिजिटल पहुँच बलियो बनाउन मद्दत पुग्ने सरोकारवालाहरूको विश्वास छ।


Leave a Reply