हुम्ला — नेपाल टेलिकमको फोर जी सेवा हुम्लाको अदानचुली गाउँपालिकामा प्रभावकारी रूपमा सञ्चालनमा आएको छ।
गत फागुनदेखि सञ्चालनमा आएको सेवा अहिले गाउँपालिकाका सबै ६ वटै वडामा सुचारु भएको छ। दुर्गम गाउँमा बसेर पनि सहज रूपमा इन्टरनेट सेवा चलाउन पाएको भन्दै स्थानीय खुसी भएका छन्।
गाउँमै बसेर सरकारी कागजात पठाउने, देश–विदेशका समाचार हेर्ने, सामाजिक सञ्जाल चलाउने, अनलाइनमार्फत रकम पठाउने–लिने जस्ता काम सहज भएका छन्। पहिलेजस्तो इन्टरनेट नचल्ने गुनासो अहिले छैन।
गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहका अनुसार अहिले अनुगमनको क्रममा वडा नं ५, काँखेमै रहेर सेवा परीक्षण गर्दा पनि फोर जी प्रभावकारी रूपमा चलिरहेको बताउनुभयो। “मैले अनुगमनका क्रममा पुगेका वडामा सेवा राम्रो चलेको पाएको छु,” उहाँले ह्याप्पी खबरलाई भन्नुभ्यो“स्थानीय पनि धेरै खुसी देखिन्छन्।”
उहाँले फोर जी सेवा झन् प्रभावकारी बनाउन थप काम भइरहेकाले आगामी दिनमा अझै सुधार हुने बताउनुभयो।
टेलिकमको फोर जी सेवा सुरु भएसँगै अदानचुलीका दुर्गम बस्तीहरू पनि इन्टरनेटमा जोडिएका छन्। यसले सूचना, शिक्षा, स्वास्थ्य, वित्तीय कारोबार, कृषिलगायत विभिन्न क्षेत्रमा सहजता ल्याएको छ।
सूचना प्रवाहको माध्यमका रूपमा सामाजिक सञ्जाल प्रयोग गर्ने चलनसमेत गाउँमा बढेको छ।
जनता मिडियाबाट साभार