सोरु गाउँपालिकामा सिंह राज डाँगी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा

अर्थ कर्णाली प्रदेश मुख्य समाचार राजनीति समाज


मुगु, असार ५ —
मुगु जिल्लाको सोरु गाउँपालिकामा सिंह राज डाँगीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा सेवा, शिक्षा प्रशासन समूहका शाखा अधिकृत डाँगीलाई सो जिम्मेवारीसहित खटाएको हो।

यसअघि गाउँपालिकामा सातौँ तहका कर्मचारी अनुप श्रेष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाइएको थियो। तर श्रेष्ठले सो जिम्मेवारी वहन गर्न नसक्ने भन्दै अध्यक्ष धर्मबहादुर शाहीसमक्ष राजीनामा बुझाएपछि वैकल्पिक व्यवस्थापनको आवश्यकताले मन्त्रालयलाई निर्णय गर्न बाध्य बनाएको हो।

गाउँपालिका अध्यक्ष धर्म बहादुर शाही र उपाध्यक्ष केशर बहादुर शाही समस्या समाधानका लागि असार २ गते काठमाडौं पुग्नुभएको थियो। लगातारको समन्वयपछि असार ४ गते सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डाँगीलाई सोरु गाउँपालिकामा प्रशासनिक तथा आर्थिक जिम्मेवारीसहित खटाउने निर्णय गरेको हो।

प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण केही समयदेखि गाउँपालिकामा आर्थिक तथा प्रशासनिक कार्य ठप्प भएको थियो। डाँगीको पदस्थापनसँगै अब सेवा प्रवाह र बजेट कार्यान्वयनमा गति आउने विश्वास स्थानीय तहका जनप्रतिनिधिहरूले व्यक्त गरेका छन्।

अध्यक्ष शाहीका अनुसार डाँगीसहितको टोली शुक्रबार काठमाडौँबाट मुगु प्रस्थान गर्नेछ। शनिबार सदरमुकाम गमगढीमा आवश्यक औपचारिकता पूरा गरी आइतबारदेखि गाउँपालिकाबाट नियमित सेवा सञ्चालन हुने जानकारी दिनुभएको छ ।

“स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीबीच समन्वय कायम गर्दै अबका दिनमा पालिकाको काम सहज र प्रभावकारी हुने अपेक्षा गरेका छौँ,” अध्यक्ष शाहीले भन्नुभयो।

डाँगीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४८(४) र कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९ को उपदफा (१) बमोजिम कार्यक्षेत्र परिवर्तन गरी सोरु गाउँपालिकामा सेवा पुर्‍याउने गरी खटाइएको मन्त्रालयले जनाएको छ।

कर्मचारी व्यवस्थापनको अस्थिरताले सिर्जित असहज स्थितिबाट गाउँपालिका प्रशासन स्थायीत्वतर्फ फर्किएको स्थानीयवासीको धारणा छ। प्रमुख प्रशासकीय अधिकृत डाँगीको नेतृत्वमा गाउँपालिकाको सेवा प्रवाह, बजेट खर्च र विकास निर्माणमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।


Leave a Reply