गल्वा बहुमुखी क्याम्पसको निर्माण स्थल अनुगमन

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा समाज

८-असार२०८२ सन्तोष प्रसाद जोशी

हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा निर्माणाधीन गल्वा बहुमुखी क्याम्पस भवनको अनुगमन गरिएको छ। आईतबार दिउँसो संयुक्त टोलीले स्थलगत अनुगमन गरेको हो।उक्त टोलीमा अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, पूर्व अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य दल फडेरा, वडा नं ५ का अध्यक्ष कमल बहादुर छत्याल, काँखे प्राथमिक विद्यालयका प्रधानाध्यापक खड्क बहादुर शाही, कैलाशपुरी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम बहादुर टमटा लगायतको सक्रिय सहभागिता रहेको थियो।
भवन निर्माणको प्रगतिबारे जानकारी लिँदै अनुगमन टोलीले भवनको गुणस्तर, निर्माणको गति, सामग्रीको प्रयोग र कार्यान्वयन पक्षबारे स्थलगत अवलोकन गरेको थियो। गाउँपालिकाले उच्च शिक्षाको पहुँच सहज बनाउने उद्देश्यले स्थापना गर्न लागिएको गल्वा बहुमुखी क्याम्पसका भौतिक पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिएको छ।अनुगमनपछि अध्यक्ष सिंहले क्याम्पसको निर्माण कार्यमा गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो।

“हामीले अबको पुस्तालाई गुणस्तरीय शिक्षा दिने सपना देखेका छौं। यो भवन ढुंगा, बालुवा र सिमेन्टको संरचना होइन, यो हाम्रो भविष्यको आधार हो,” अध्यक्ष सिंहले भन्नुभयो।स्थानीय बासिन्दाहरूले क्याम्पस निर्माणले गाउँका विद्यार्थीलाई उच्च शिक्षाको लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुनेमा विश्वास व्यक्त गरेका छन्।
क्याम्पस संचालनमा आएसँगै स्थानीय स्रोत साधन प्रयोग हुँदै शिक्षाको स्तरीयता पनि बढ्ने जनाइएको छ।पूर्व अध्यक्ष दल फडेराले शिक्षामा लगानीको रुपमा हेर्नुपर्ने उल्लेख गर्दै राज्यको लगानी, स्थानीयको योगदान र संस्थागत पारदर्शिताले मात्र दिगो विकास सम्भव हुने बताउनुभयो।
अनुगमन टोलीले निर्माण कम्पनीलाई गुणस्तरीय सामग्री प्रयोग गर्ने, समयसीमा भित्र काम सम्पन्न गर्ने र पारदर्शिता कायम गर्न निर्देशन दिएको छ।

साथै, प्राविधिक अनुगमनलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिएको छ ।क्याम्पस भवन निर्माणमा देखिएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै टोलीले अब बाँकी कार्यमा अझै चुस्तता ल्याउनुपर्ने सुझाव दिएको छ। गाउँपालिकाले क्याम्पसको सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया, कर्मचारी व्यवस्थापन, पाठ्यक्रम तथा प्रशासनिक संरचना तयारीका कामहरूलाई पनि प्राथमिकतामा राखेको छ।गल्वा बहुमुखी क्याम्पसको निर्माण कार्यले अदानचुली गाउँपालिकामा शिक्षाको नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको छ।

स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका अगुवा तथा सरोकारवालाको सक्रिय सहभागिताले क्याम्पसको निर्माण र सञ्चालनमा सकारात्मक ऊर्जा थपिएको छ। यदि निर्धारित समय र गुणस्तरमा काम सम्पन्न भयो भने यो क्याम्पस दुर्गम हुम्ला जिल्लाका लागि शिक्षा क्षेत्रमा ऐतिहासिक बन्ने स्थानिको विश्वास छ।

Leave a Reply