सोरु गाउँपालिकामा शिहराज डाँगीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समाल्दै

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा समाज

मुगु जिल्लाको सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा शिहराज डाँगीले आइतवारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्नुभएको छ।गाउँपालिकाको कार्यालय परिसरमा आयोजित एक सादगीपूर्ण कार्यक्रमका बीच डाँगीलाई गाउँपालिका अध्यक्ष धर्मबहादुर शाही, उपाध्यक्ष केशर बहादुर शाही वडाध्यक्षहरू तथा कर्मचारीहरूले स्वागत गर्दै आगामी दिनमा सहकार्य गरेर गाउँको समग्र विकासमा टेवा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले डाँगीको अनुभव र प्रशासनिक क्षमताले गाउँपालिकाको सेवा प्रवाह र विकास योजनालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो“हामी सबै मिलेर गाउँपालिका प्रशासनलाई जनमुखी र पारदर्शी बनाउने लक्ष्य रहेको उहाँको भनाई छ।
प्रमुख प्रशासकीय अधिकृतको स्वागत गर्दै विकास योजनामा पारदर्शिता र जनहितका विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।शिहँराज डाँगी मन्त्रालय तथा स्थानीय तहमा लामो प्रशासनिक अनुभव बोकेका एक कुशल अधिकृतका रुपमा चिनिनुहुन्छ।

यसअघि विभिन्न पालिकामा कार्यरत रहँदै आएका डाँगीले आफूलाई सोरु गाउँपालिकामा सेवा गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो। “सोरु गाउँपालिकाको सम्भावना धेरै छन्, हामी सबै मिलेर यसलाई नमूना पालिकाको रुपमा विकास गर्न सक्छौं,” डाँगीले भन्नुभयो।उहाँ ग्रामीण सेवा सुधार, योजना कार्यान्वयनमा पारदर्शिता, जनगुनासो समाधान, र सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रतिवद्ध रहेको बताउनुभयो ।

स्थानीय बासिन्दाहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग सेवा प्रवाहमा सुधार, विकास योजना कार्यान्वयनमा गति र गरिब तथा दुर्गम वर्गका जनतामाथि विशेष ध्यान पुग्ने अपेक्षा गरेका छन्।सोरु गाउँपालिका कर्णाली प्रदेशको विकट र हिमाली भूभागमा पर्ने पालिकामध्ये एक हो। यहाँ स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी र सञ्चार जस्ता क्षेत्रमा अझै थुप्रै सुधारको आवश्यकता रहेको देखिन्छ।

प्रमुख प्रशासकीय अधिकृत डाँगीले आफ्नो प्राथमिकतामा आधारभूत सेवा सुधार, योजनाहरूको अनुगमन, बजेट कार्यान्वयन र कर्मचारी व्यवस्थापनलाई राख्ने बताउनुभयो।सोरु गाउँपालिकामा शिहराज डाँगीको आगमनसँगै स्थानीय प्रशासनमा नयाँ उत्साह र अपेक्षा पलाएको छ। जनप्रतिनिधि, कर्मचारी र बासिन्दाहरूको सहकार्य र समर्थनमा डाँगीले समावेशी, पारदर्शी र विकासमुखी प्रशासन संचालन गर्ने बताउनुभएको छ ।

Leave a Reply