विपन्न र भुइँ मान्छेहरूका सवाललाई बिशेष प्राथमिकता दिने :अध्यक्ष रोकाया

बिचार मुख्य समाचार राजनीति समाज स्वामीकार्तिक खापर गाउँपालिका


सन्तोष प्रसाद जोशी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तर्जुमाको पूर्वसन्ध्यामा सुझाव संकलन कार्यक्रम भएको छ।

गाउँपालिकाको केन्द्र सुइजिउलामा आईतवार आयोजना गरिएको कार्यक्रममा गत वर्षको समीक्षा गर्दै नयाँ वर्षका लागि नीति तथा कार्यक्रमको तर्जुमा विषयमा व्यापक छलफल भएको थियो। वडा नं. ४ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता सिंह धामीका अनुसार, कार्यक्रममा १५ जना सहभागी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आफ्नो जनगुनासो र सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा दलित समुदायका लागि लक्षित कार्यक्रम र बजेट सुनिश्चित गर्न ‘दलित अभियान बाजुरा’ले गाउँपालिकालाई औपचारिक मागपत्र पनि बुझाएको छ। सो अभियानका जिल्ला संयोजक दीपक कडाराले पछाडि पारिएको दलित समुदायका मुद्दा नीति तथा कार्यक्रममा समेटिनुपर्ने आवश्यकता औंल्याउँदै बजेटमा उनीहरूका माग समावेश गरिनुपर्ने बताउनुभयो।

मागपत्र बुझ्दै गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले समाजका पछाडि पारिएका, विपन्न र भुइँ मान्छेहरूको सवाललाई स्थानीय सरकारले सधैँ प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेट तथा योजनामा पनि दलित लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने स्पष्ट पार्दै, सबै समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

सहभागीहरूले कार्यकर्ता मुखी भन्दा टाढा रहेर दिगो र सर्वसमावेशी विकास योजना ल्याउन सुझाव दिए। नीति निर्माणमा कुनै पनि प्रकारको राजनीतिक पक्षपात नगरिनुपर्ने भन्दै, सबै समुदाय र राजनीतिक धारका मानिसहरूको सहकार्यमा मात्रै समृद्ध गाउँपालिकाको निर्माण सम्भव हुनेमा उनीहरूले जोड दिएका थिए।

कार्यक्रममा सहभागीले “स्थानीय सरकार नागरिकको नजिकको सरकार हो” भन्ने अवधारणालाई आत्मसात गर्दै विकासका काममा विभेदपूर्ण व्यवहार नगर्नु पर्ने सुझावसमेत दिएका थिए। साथै, सत्यका पक्षमा उभिनु र असत्यको विरोधमा आवाज उठाउनु सबैको साझा जिम्मेवारी भएको भन्दै सहभागितामूलक र उत्तरदायी शासन प्रणाली निर्माणका लागि सबैको भूमिकालाई महत्त्वपूर्ण ठहर गरेका थिए।


Leave a Reply