सन्तोष प्रसाद जोशी बाजुरा, असार ९
बाजुराको जगन्नाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम दोस्रो गाउँसभा तथा १६औं अधिवेशनबाट सर्वसम्मत रूपमा पारित भएको छ। साथै, मौलिक संस्कृति संरक्षणका लागि ९२ जना पञ्चेबाजा तथा हुड्केली कलाकारलाई दौरा-सुरुवाल वितरण गरिएको छ।
“कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार– जगन्नाथ गाउँपालिकाको विकासको मूल आधार” भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनमा समावेशी, दिगो र व्यावहारिक विकासलाई केन्द्रमा राखिएको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।
सभाको अध्यक्षता गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गर्नुभएको थियो। उहाँले नीति निर्माणमा सबै वडाबाट प्राप्त सुझाव, स्थानीय आवश्यकता र जनचासोलाई प्राथमिकताका साथ समेटिएको जानकारी दिनुभयो। गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र प्रसाद जोशीका अनुसार अब गाउँपालिका बजेट विनियोजनको प्रक्रियामा जाने बताउनुभयो ।
गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र प्रसाद जोशीका अनुसार कृषि क्षेत्रमा स्थानीय उत्पादन वृद्धि, सिंचाइ पूर्वाधार विस्तार, आधुनिक प्रविधिको प्रयोग र बजार पहुँच विस्तार गर्न विविध कार्यक्रम समावेश गरिएका छन्। शिक्षा क्षेत्रमा डिजिटल शिक्षण प्रणाली प्रवर्द्धन गर्दै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने योजना छ।
स्वास्थ्य क्षेत्रमा आधारभूत सेवाको पहुँच सबै नागरिकसम्म पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य केन्द्र सुदृढीकरण, विशेषज्ञ सेवा विस्तार र मातृशिशु स्वास्थ्य सुधारको कार्यक्रम प्रस्ताव गरिएको छ।
त्यस्तै, पर्यटन प्रवर्द्धनका लागि होमस्टे व्यवस्थापन, पदमार्ग निर्माण, सांस्कृतिक स्थल संरक्षण र नयाँ गन्तव्य प्रवर्द्धन जस्ता योजनाहरू अघि सारिएका छन्। पूर्वाधारतर्फ सडक सञ्जाल, खानेपानी, ऊर्जा र संचार सुधार प्राथमिकतामा राखिएको छ।
गाउँपालिकाले त्यही दिन संस्कृति संरक्षणतर्फ पनि एक ऐतिहासिक कदम चालेको छ। जुड्डीस्थित गाउँपालिका कार्यालयमा आयोजित विशेष समारोहमार्फत पञ्चेबाजा र हुड्केलीजस्ता परम्परागत सांस्कृतिक विधामा सक्रिय ९२ जना स्थानीय कलाकारलाई दौरा-सुरुवाल सेट वितरण गरिएको हो।
कार्यक्रममा अध्यक्ष शाहीले मौलिक बाजाहरू केवल धुन र तालका लागि नभई हाम्रो पहिचान, इतिहास र गौरवका प्रतीक भएको उल्लेख गर्दै, “संस्कृति गुमाउनु भनेको अस्तित्व गुमाउनु हो,” भन्नुभयो। उहाँले स्थानीय सरकार यस कार्यमा अग्रसर हुनुपर्ने स्पष्ट धारणा राख्नुभयो।
कार्यक्रममा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक, पत्रकार, नागरिक समाज र स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कलाकारहरूले दौरा-सुरुवालमा सजिएर प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमले कार्यक्रमलाई झनै जीवन्त बनाएको थियो।
कलाकारहरूले वर्षौँदेखिको योगदान औपचारिक रूपमा स्वीकार गरिएकोमा गहिरो कृतज्ञता व्यक्त गरे। कतिपयले आँखा रसाउँदै यो सम्मानले नयाँ ऊर्जा, प्रेरणा र उत्साह दिएको बताए। सूचना अधिकारी जोशीले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जगन्नाथ गाउँपालिकाले भौतिक पूर्वाधारसँगै भाषा, संस्कृति र परम्पराको संरक्षणमा समेत उदाहरणीय बनेको स्थानीयको भनाई छ ।