सन्तोष प्रसाद जोशी बाजुरा, असार १५ –
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले यस वर्ष पनि राष्ट्रिय धान दिवस उत्साहका साथ मनाएको छ। ‘धान दिवस, कृषकको सम्मान’ भन्ने नाराका साथ हरेक वर्ष असार १५ गते मनाइने धान दिवस स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ को काम्तीमा विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो।
गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम स्थानीय कृषक, जनप्रतिनिधि, प्राविधिक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा सफलतापूर्वक सम्पन्न भएको थियो। कार्यक्रममा पालिका प्रशासन प्रमुख कुमेर शाहीको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकाया र सहभागीहरूले खेतमा धान रोप्दै पर्वको रूपले असार १५ लाई हर्षोल्लासका साथ मनाएका थिए।
कार्यक्रमको सुरुवातमै गाउँपालिका अध्यक्ष रोकायाले असार १५ लाई कृषकहरूको मिहिनेत र मुलुकको कृषिमा आत्मनिर्भर बन्ने अभियानको प्रतीकको रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो गाउँ कृषिमा भर पर्छ। हामीले आधुनिक कृषि प्रणाली, सहुलियतपूर्ण प्रविधि, बजार व्यवस्थापन र प्याकेजिङमा ध्यान दिँदा मात्र कृषकको जीवनस्तर माथि उठ्छ।”

धान दिवससँगै काम्ती र बाहुनी क्षेत्रका प्याज उत्पादनमा लागेका कृषकहरूको उत्साह बढाउने उद्देश्यले गाउँपालिकाले थप सहयोगको प्रतिबद्धता पनि जनाएको छ। गाउँपालिकाको कृषि शाखाले १ लाख बराबरको ढुवानी सहयोग र RERAS परियोजनाले २० हजार सहयोग गरेको कृषि अधिकृत बिनोद शाहीले बताउनुभयो ।
गाउँपालिकाको कृषि शाखा प्रमुख विनोद शाहीका अनुसार, प्याज खेतीलाई प्रवर्द्धन गर्दै कृषकहरूको आम्दानी बढाउने दीर्घकालीन लक्ष्यसहित यो सहयोगको योजना बनाइएको हो। उहाँले भन्नुभयो, “कृषकले उत्पादन गरेपछि बजार पुर्याउने र उचित मूल्यमा बिक्री गर्ने चुनौतीलाई सम्बोधन गर्न हामीले प्याकेजिङ र ढुवानी सुविधा दिन लागेका हौं।”
शाहीका अनुसार, प्याजको उत्पादनमा काम्ती र बाहुनी क्षेत्र सम्भावनायुक्त रहेका छन्। यहाँका कृषकहरूको परिश्रम र उत्पादन क्षमतालाई ध्यानमा राखेर गाउँपालिकाले उनीहरूलाई निरन्तर सहयोग गर्दै आएको छ। गाउँपालिकाको कृषि कार्यक्रमले पछिल्लो समय कृषिमा विविधता ल्याउँदै तरकारी, फलफूल र अन्य नगदे बालीतर्फ पनि कृषकहरूलाई प्रोत्साहित गर्दै आएको छ।

धान दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थानीय किसानहरूले खेतमा रोपाइँ गर्दै गीत, नाच र परम्परागत बाजागाजाका साथ सांस्कृतिक झलक समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी स्थानीय युवाहरू, महिलाहरू र वृद्धवृद्धाहरूले एकै ठाउँमा जुटी असार १५ को उल्लासपूर्ण क्षण साझा गरेका थिए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पारस बहादुर शाहीले कृषिमा आधारित नीति र कार्यक्रमलाई प्राथमिकतामा राखेर गाउँपालिकाले आगामी दिनमा अझ प्रभावकारी योजना ल्याउने बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले कृषि अनुदान, प्राविधिक तालिम, बीउबिजनको आपूर्ति र कृषि उपकरणहरू वितरण जस्ता विषयलाई समेटेर नीति बनाइरहेका छौं। उहाँले बताउनुभयो।त्यस्तै प्रशासन प्रमुख कुमेर बहादुर शाहीले कृषिमा आमुल परिवर्तन ल्याउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमले कृषकमा हौसला प्रदान गर्नुका साथै गाउँपालिकाको तर्फबाट कृषि विकासमा देखिएको प्रतिबद्धता प्रष्ट पारेको छ। स्थानीयले पनि पालिकाले देखाएको चासो र सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा थप योजना र सहजीकरणको अपेक्षा गरेका छन्।कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया वडा अध्यक्ष पार्टी प्रतिनिधि,कर्मचारी र स्थानीयको उल्लेखनीय उपस्थिति थियो।