हुम्ला — हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीको दोस्रो जिल्ला कमिटी बैठक सम्पन्न भएको छ। पार्टीको संगठनात्मक सुदृढीकरण, नीति–रणनीति निर्माण र आगामी कार्यक्रम निर्धारणका लागि महत्वपूर्ण मानिएको उक्त बैठक जिल्ला पार्टी अध्यक्ष जोशी धामीको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा पार्टी पोलिटब्यूरो सदस्य, प्रदेश कमिटी सह–इन्चार्ज तथा जिल्ला इन्चार्ज हस्त बहादुर शाही प्रमुख अतिथि रहनुहुन्थ्यो भने प्रदेश सचिवालय सदस्य कमल छत्याल विशेष अतिथिको रूपमा सहभागी हुनु भएको थियो।
पार्टी उपसचिव नवराज कार्कीका अनुसार, बैठकमा प्रदेश, जिल्ला, गाउँ कमिटीका पदाधिकारीसहित संगठनप्रति आस्था राख्ने कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकले संगठनलाई थप सशक्त, एकीकृत र जनमुखी बनाउने विषयमा महत्वपूर्ण निर्णयहरू पारित गरेको कार्कीले जानकारी दिनुभयो।
बैठकले श्रावण मसान्तसम्ममा संगठित सदस्यहरूको विवरण अध्यावधिक गर्ने र संगठन निर्माणलाई तिब्रता दिने निर्णय गरेको छ। साथै, आगामी भाद्र ५ गते ‘प्रदेश क’ को अधिवेशन सर्केगाड गाउँपालिकामा र भाद्र १५ गते ‘प्रदेश ख’ को अधिवेशन सिमकोटमा सम्पन्न गरिने निर्णय समेत गरिएको छ।
पार्टीले अबको चरणमा नीति निर्माणसँगै गाउँस्तरसम्म संगठन विस्तार गर्ने, युवाहरूलाई नेतृत्वमा अघि बढाउने र समसामयिक विषयमा जनतामाझ स्पष्ट विचार पुर्याउने योजना अघि सारेको छ। बैठकले पार्टी अनुशासन, समर्पण र सामूहिक निर्णय प्रक्रियालाई बलियो बनाउँदै जनताको विश्वास जित्न सक्नेगरी संगठन चलाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
बैठकले रणनीतिक ढंगले पार्टीको विचार, संगठन र कार्यक्रमलाई एकीकृत गर्दै स्थानीय तहदेखि प्रदेशसम्म सशक्त संगठन निर्माणको खाका तय गरेको छ। पार्टीले यो बैठकलाई भावी आन्दोलन र राजनीतिक स्थायित्वको सुदृढ आधारका रूपमा लिएको छ।