बाजुरा ,सन्तोष प्रसाद जोशी
यस वर्षको संगीत नाट्य विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कार चर्चित कवि, गीतकार तथा संगीतकार राजेन्द्र शाह विपि लाई प्रदान गरिएको छ भने प्रादेशिक प्रतिभा पुरस्कार लोकप्रिय गायक प्रकाश थापा लाई प्रदान गरिएको छ। दुबै प्रतिभाशाली सर्जक तथा गायकले सुदूरपश्चिम र कर्णाली क्षेत्रको मौलिक संगीत, भाषा, संस्कृति र परम्परालाई निरन्तर संरक्षण र प्रवर्द्धन गर्दै आउनुभएको छ।
राजेन्द्र शाह विपि नेपाली साहित्य र संगीतको गहिरो साधक हुनुहुन्छ। उहाँको लेखनमा लोकजीवनको पीडा, सामाजिक सन्देश, र परम्परागत बटबृक्षको जरो जस्तै गहिरो भावना समेटिएको हुन्छ। उहाँका गीतहरू केवल मनोरञ्जनका माध्यम होइनन्, ती जनताको मुटुका धडकन हुन्। उहाँले लेखेका देउडा, ठाडी भाका, तथा राष्ट्रिय भावनाले ओतप्रोत गीतहरू आज पनि गाउँघरका मेहफिल, मेला–पर्व र रेडियोहरूमा गुञ्जिरहेका छन्।
त्यसैगरी, गायक प्रकाश थापा सुदूरपश्चिमको संगीत क्षेत्रमा परिचित नाम हो। उहाँले गाउँदै आएको आवाजले यो क्षेत्रमा मात्र होइन, समग्र नेपाली लोकसंगीतलाई नयाँ उचाई दिएको छ। उहाँको आवाजमा एउटा मिठास, एउटा अपनत्व र एउटा जीवन्तता पाइन्छ, जसले सुन्ने जो–कोहीलाई तान्ने गर्छ। उहाँले गाउँले लय, मौलिक ठाडी भाका र लोकशैलीलाई आधुनिक परिवेशमा प्रस्तुत गर्दै नयाँ पुस्तासम्म पु¥याउन सक्ने दुर्लभ क्षमता छ ।
यो पुरस्कार दुबै व्यक्तित्वको दीर्घ साधनाको मूल्यांकन हो। राजधानी केन्द्रित संस्कृति मात्र नभई, देशको पश्चिम छेउमा बस्ने समुदायको सांगीतिक योगदानलाई राष्ट्रिय मञ्चमा उजागर गर्नु अत्यन्तै स्वागतयोग्य हो। राजेन्द्र शाह विपि र प्रकाश थापा जस्ता सर्जकहरूकै अथक प्रयासले आज सुदूरपश्चिम र कर्णालीको आवाज राजधानीमा गुन्जिन थालेको छ।
यी क्षेत्रका देउडा, ठाडी भाका, भाबुक लोकगीत र परम्परागत बाजा–साज हराउँदै जान थालेका बेला उहाँहरू जस्ता साधकले मौलिकता जोगाउन निरन्तर लागिरहनुभएको छ। आधुनिकतासँगै मौलिकताको समन्वय गर्दै सांगीतिक संस्कृतिको गतिशीलता कायम राख्न उहाँहरुको योगदान अपरिहार्य छ।
पुरस्कारसँगै अझ जिम्मेवारी महसुस गरेको। राजेन्द्र शाह विपिले भन्नुभयो”यो सम्मान मेरो व्यक्तिगत उपलब्धि नभई यो हाम्रो संस्कृति र हाम्रो पहिचानको सम्मान हो।” त्यस्तै, प्रकाश थापाले भन्नुभयो “मैले गाउँले भाका गाउँदा राजधानीका मान्छेले रूने गरेको देखेको पनि छु ईन्द्रेणीमा सुदुरको ठाडोभाका घन्किदा कैयौंका आँखा रसाएका थिए।यो हाम्रो सांगीतिक शक्तिको प्रमाण हो।”उहाँले भन्नुभयो ।
दुबै स्रष्टा आज देशभरका संगित साधकका लागि प्रेरणाका स्रोत बनिरहनु भएको छ। यो पुरस्कारले सुदूरपश्चिम र कर्णालीको मौलिक आवाजलाई राष्ट्रिय गौरवमा रूपान्तरण गर्ने यात्रामा थप ऊर्जा भर्ने विश्वास लिइएको छ।उहाँहरु दुबै जनालाई बाजुराको माटोले जन्माएको हो ।