सोरु गाउँपालिकामा जी एस एसको वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

कर्णाली प्रदेश शिक्षा स्वास्थ्य

‎मुगु, असार २० सन्तोष प्रसाद जोशी

“सुसाशीत संस्था, समुन्नत समाज” भन्ने मूल नारासहित मुगुको सोरु गाउँपालिकामा एक दिने वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ। शिक्षा तथा अपांगता भएका व्यक्तिहरूको हकहितमा काम गर्दै आएका संस्थाहरूको सहकार्यमा आयोजित गोष्ठी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।

‎गोष्ठी यु.एम.एन. मुगुको सहयोगमा तथा ग्रामीण सामुदायिक संस्था (GSS)को समन्वय र सहजीकरणमा सम्पन्न भएको थियो। कार्यक्रमको प्रारम्भमा GSS का कार्यक्रम संयोजक बासु रावलले अघिल्लो वर्ष सम्पन्न भएका कार्यक्रमहरूको विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै बालबालिका तथा अपांगता भएका व्यक्तिको जीवनस्तरमा उल्लेखनीय सुधार आएको जानकारी गराउनुभयो।

‎उहाँका अनुसार, विद्यालय स्वमूल्यांकन अनुगमन, अभिभावक शिक्षा, ICT कक्षाकोठा व्यवस्थापन, अपांगता भएका परिवारलाई सहारा, शौचालय निर्माण, ४१ बालबालिकाको उपचार, र शैक्षिक सामग्रीको वितरण जस्ता कार्यहरू सफलतापूर्वक सम्पन्न भएका गरेको उहाँले बताउनुभयो ।

‎कार्यक्रममा भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक बोहराले शिक्षक डायरीको प्रभावकारितामा प्रश्न उठाउँदै सुधारको खाँचो औंल्याउनुभयो। उहाँले कार्यक्रम अझ बढी सशक्त ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

‎‎गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीले कतिपय विद्यालयहरूमा शिक्षण कार्यमा लापरवाही देखिएको टिप्पणी गर्दै आफू शिक्षामा लगानी गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो। संस्थाको प्रयासले समाजमा सकारात्मक परिवर्तन आएको भन्दै धन्यवाद प्रकट गर्नुभयो।

‎‎कार्यक्रमका विशेष अतिथि उपाध्यक्ष केशर बहादुर शाहीले “रिजल्ट राम्रो ल्याउन परीक्षा राम्रो हुनुपर्छ” भन्ने भनाइ स्मरण गर्दै सबैलाई कर्मनिष्ठ भई कार्य गर्न आह्वान गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत शिंहराज डाँगीले पालिका र संस्थाबीचको सहकार्यले विकासलाई गति दिएको धारणा व्यक्त गर्नुभयो।

‎‎संयोजक रावलले विद्यालय संरचना मर्मत, शैक्षिक सामग्री वितरण, अभिभावक सहभागिता र सामाजिक लेखापरीक्षणका कामहरूमा संस्थाले निरन्तरता दिइरहेको जानकारी गराउनुभयो। संस्थाका अध्यक्ष बलराम साहानीले स्थानीय स्तरमै उत्पादन भएका फेरुवाको प्रयोग गरी केही विद्यालयमा छात्रावास व्यवस्थापन गरिएको र कतिपय विद्यालयको अवस्था दयनीय रहेको उल्लेख गर्नुभयो।

‎‎उहाँले पालिकाभित्रका २८ विद्यालयमध्ये उत्कृष्ट छानोट गरेर मोडेल विद्यालयको अवधारणा अघि बढाउनुपर्ने सुझाव पनि दिनुभयो।‎‎‎गोष्ठीमा शिक्षा शाखा प्रमुख निर्मल देवकोटा, सबै वडाका अध्यक्षहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू, प्रहरी चौकी इञ्चार्ज दिलीप रोका मगर, बाल क्लबकी विजया लक्ष्मी नेपाली,सामाजिक परिचालक निर्मला रावल, रामभक्त साहानी, कार्यक्रम सुपरभाइजर धन बहादुर मल्ललगायतको सहभागिता थियो।

‎कार्यक्रमको सन्चालन गाउँपालिकाका विपद् फोकल पर्सन तथा पशु स्वास्थ्य प्राविधिक विनोद शाहीले गर्नु भएको थियो।‎गोष्ठीले शिक्षा र समावेशी विकासतर्फ सोरु गाउँपालिकाको प्रतिबद्धता झल्काएको सहभागीहरूको धारणा रहेको छ।

Leave a Reply