अदानचुली–५ मा राष्ट्रिय परिचयपत्र वितरण सुरु हुँदै, फर्जी नागरिकता रोक्न वैज्ञानिक प्रणाली

कर्णाली प्रदेश मुख्य समाचार


 २०८२ असार २४ गणेश शाही हुम्ला

जिल्लाको अदानचुली गाउँपालिका–५ मा यही असार २५ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु हुने भएको छ। वडास्तरका कर्मचारी र उपभोक्ताको विवरण संकलन कार्य पूरा भइसकेकाले वितरण प्रक्रिया सुरु गर्न लागिएको वडा अध्यक्ष कमल छत्यालले जानकारी दिनुभयो।

“उपभोक्ताहरुको खातामा विवरण अपडेट गर्नुपर्ने भएकाले वितरण कार्य अलि चाँडो गर्न लागिएको हो,” अध्यक्ष छत्यालले भन्नुभयो। यसअघि वडा नं ६ मा सबै वर्गका नागरिकलाई परिचयपत्र वितरण भइसकेको छ। बाँकी वडाहरूमा पनि क्रमशः वितरण गरिने उहाँले बताउनुभयो।

यसैबीच, देशभर नागरिकता वितरणमा फर्जी कार्यहरू बढिरहेका बेला राष्ट्रिय परिचयपत्र वितरण भने वैज्ञानिक प्रणालीमार्फत हुने सरकारी अधिकारीहरुले बताएका छन्। विभागका अनुसार नागरिकता जस्तो सिफारिसका आधारमा हैन, जैविक परीक्षणमार्फत संकलन गरिएका विवरणकै आधारमा मात्र राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाका छाप, व्यक्तिगत विवरण र अन्य डिजिटल सूचना हुने भएकाले यसको दुरुपयोगको सम्भावना न्यून हुने अपेक्षा गरिएको छ। यस प्रणालीले नागरिकताको प्रमाण, मतदाता परिचयपत्र लगायतका कागजात अलग्गै बोक्नुपर्ने झन्झट हटाउने जनाइएको छ।

“राष्ट्रिय परिचयपत्र आफूसँग राखेपछि अन्य थुप्रै कागजात बोकिरहनुपर्ने झन्झट हुँदैन,” एक अधिकारीले भने, “यो बहुउपयोगी कागजात हो जसले सरकारी सेवा, बैंकिङ, निर्वाचन र सामाजिक सुरक्षाजस्ता सेवाहरूमा सहजता ल्याउनेछ।”

परिचयपत्र वितरण कार्य पूरा भएपछि अदानचुली गाउँपालिका डिजिटल सूचनाको आधारमा परिचालन हुने देशका अगाडि रहेका पालिकामध्ये पर्ने स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ।


Leave a Reply