
बाजुरा — हिमाली गाउँपालिका–१ अन्तर्गतको बिच्छ्या खोलामा आएको आकस्मिक बाढीले गाउँको मुटु चिरिदिएको छ। लगातारको अविरल वर्षापछि खोलाको पानी असामान्य उर्लिंदै बस्ती र खेतीयोग्य जमिनमा पसेपछि, स्थानीयहरूको जीवन एकैछिनमा अस्तव्यस्त बनेको हो।
खोलाकिनारका खेतहरू माटोको सुगन्धसहित हराभरा थिए, तर अहिले त्यहाँ बगर र ढुंगामात्र बाँकी छन्। गाउँको हाँसो र खेतबारीको हरियाली बाढीको वेगसँगै बगेर गएको छ।
स्थानीय साजन थापाले आँखा रसाउँदै भने, “यो खेतै हाम्रो जीवन थियो, अहिले माटोको सट्टा ढुंगा मात्रै छ। घर अगाडिको बाटो पनि बगेर गयो।”
गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लका अनुसार, बाढीले अहिलेसम्म १० घरका छाना उखेलिदिएको छ भने खेतीयोग्य ठूलो जमिन बगरमा परिणत भएको छ। उनले थपे, “कसको कति क्षति भयो भन्ने विस्तृत विवरण अझै संकलन भइरहेको छ, तर गाउँको पीडा आँखै देखिने खालको छ।”
बाढीले वडा नं. १, ३ र ५ मा ठूलो असर पुर्याएको छ। घटना भएपछि नेपाल प्रहरीको टोली उद्धार तथा अवस्थाको जानकारीका लागि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि, मोबाइल नेटवर्क नहुँदा पीडितहरूसँग सम्पर्क गर्न कठिनाइ भएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुराले वर्षा अझै जारी भएकाले थप बाढी र पहिरोको जोखिम कायमै रहेको भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।
बिच्छ्या खोलाको छेउमा उभिँदा अहिले उर्लिँदो पानीको आवाजसँगै गाउँको मौनता झन् चर्को सुनिन्छ।
