मुगु र हुम्लाका दुर्गम क्षेत्रहरूमा नेपाल टेलिकमको फोर–जी सेवा विस्तार ।

अर्थ कर्णाली प्रदेश मुख्य समाचार समाज

‎मुगु — दुर्गम पहाडी जिल्लामा सूचना–सञ्चार सेवा विस्तार गर्ने क्रममा नेपाल टेलिकमले मुगुको सोरु गाउँपालिका वडा नं ४ र ५ सहित छिमेकी हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं १ जैर मा नयाँ टावरमार्फत फोर–जी सेवा सञ्चालनमा ल्याएको छ। अब दुर्गम गाउँका बासिन्दाले आफ्नै घरभित्रै बसेर सहजै भिडियो कल गर्न सक्ने भएका छन्।

‎यसअघि लामो समयदेखि दुर्गम भेगका नागरिकहरू मोबाइल नेटवर्क कमजोर हुनुका साथै इन्टरनेट सेवामा समेत वञ्चित भइरहेका थिए। विशेष गरी विद्यार्थी, शिक्षक तथा बाहिर रोजगारीमा रहेका आफन्तसँग सम्पर्क राख्नुपर्ने नागरिकहरूलाई ठूलो समस्या हुँदै आएको थियो। नेपाल टेलिकमले ती समस्यालाई मध्यनजर गर्दै नयाँ टावरमार्फत फोर–जी सेवा उपलब्ध गराएको हो।

‎महादेव माध्यमिक विद्यालयका प्रधानाध्यापक धनऋषि  शर्माले फोर–जी सेवा सञ्चालनमा आएपछि दुर्गम गाउँलेहरू निकै उत्साहित भएको बताए। उनका अनुसार, “अब गाउँकै घरभित्रबाट भिडियो कल गर्न सकिने भएको छ। यसअघि निकै कठिनाइका साथ मात्र सम्पर्क गर्न सकिन्थ्यो। अहिले भने शिक्षादेखि अन्य सम्पूर्ण क्षेत्रमा ठूलो सहजता आउनेछ।”

‎सोरु गाउँपालिका–४ का स्थानीयवासी डबल शाहीले पनि नयाँ सेवाप्रति खुसी व्यक्त गर्दै भने, “हामी पहाडमा बस्नेहरूलाई अब सजिलै फोन गर्न र भिडियो कल गर्न मिल्ने भएको छ। यसअघि सम्पर्क गर्नै मुस्किल हुन्थ्यो, तर अहिले भने संसारसँग जोडिएको अनुभव भइरहेको छ।”

‎नेपाल टेलिकमका प्राविधिक टोलीका अनुसार अबको केही दिनभित्रै हुम्लाको चंखेली गाउँपालिका–५, मेल्छाममा पनि फोर–जी सेवा सञ्चालनमा ल्याइने तयारी भइरहेको छ। टेलिकमले दुर्गम क्षेत्रमा सूचना–सञ्चार सहज बनाउन निरन्तर रूपमा टावर विस्तार र प्रविधि सुधारको काम गरिरहेको जनाएको छ।

‎फोर–जी सेवाको विस्तारसँगै दुर्गम क्षेत्रका नागरिकलाई शिक्षा, स्वास्थ्य, व्यवसाय, सञ्चार तथा आपतकालीन सेवामा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ। साथै, आधुनिक प्रविधिमा आधारित सेवा ग्रामीण भेगमा पुग्दा दुर्गम बस्तीहरू पनि देश तथा विश्व समुदायसँग प्रत्यक्ष रूपमा जोडिन सक्नेछन्।

‎सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीको पहल कदमीमा फोर जी सेवा सन्चालन भएर प्रत्यक्ष रुपमा आफन्तसंग भिडियो कल गर्न पाउँदा स्थानीय बासी खुशी हुँदै अध्यक्ष शाहीलाई धन्यवाद दिएका छन।अबको केही दिन सोरु गाउँपालिकाको केन्द्रमा फोर जी सेवा सन्चालनमा ल्याउने प्राबिधिक टोलीले जानकारी दिएको छ।

Leave a Reply