राष्ट्रपति रामचन्द्र पौडेलले देशमा उत्पन्न वर्तमान जटिल परिस्थितिबाट संवैधानिक दायराभित्र रही निकास दिन सक्ने उपाय खोज्न सबै सरोकारवालालाई अपिल गर्नुभएको छ।
राष्ट्रपतिले शुक्रबार जारी गर्नुभएको अपिलमा मुलुकमा लोकतन्त्रको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न निरन्तर विचार–विमर्श र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गरी छोटो समयमा समस्या समाधानतर्फ अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
“समस्याको समाधान खोज्ने कुरामा बिस्तारै हुनुभन्दा छिटो निष्कर्षमा पुगेर संवैधानिक बाटोबाट निकास दिन सकिन्छ,” विज्ञप्तिमा भनिएको छ, “शान्ति सुव्यवस्था कायम गर्न सहमतिपूर्ण ढंगले अघि बढ्न सबै पक्ष सहयोगी बन्ने अपेक्षा लिएको छु।”
राष्ट्रपति पौडेलले देशमा देखिएका असन्तुष्टिलाई संवैधानिक सीमा नाघी समाधान गर्न नसकिने भन्दै, लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणसहित सहमति र संवादमार्फत अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
