बाजुरा — बाजुराको बुढिनन्दा नगरपालिकाले संविधानको रक्षा र राष्ट्रिय सार्वभौमिकताको पक्षमा जोड दिँदै बिहीबार दिउँसो संयुक्त शान्तिपूर्ण र्याली सम्पन्न गरेको छ। “संबिधानको रक्षा गरौँ, बिदेशी दलाल होसियार, हामी शैनिक शासन मान्दैनौं, बिधिको शासन कायम गर, सिमानामा सुरक्षा कडाई गर, GenZ का उपयुक्त माग पूरा गर, रास्ट्रपतिलाई सार्बजनिक गर” जस्ता नारा दिँदै निकालिएको र्याली कोल्टी बजारको शिव मिलन पार्क बजारका विभिन्न स्थानमा परिक्रमा गरिएको थियो।
उक्त र्यालीमा नगरपालिकाका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, पार्टी पंक्ति र स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा सहभागीहरुले हातमा प्लेकार्ड बोकेर संविधान र राष्ट्रिय स्वाधीनतामाथि आक्रमण गर्ने तत्वविरुद्ध कडा प्रतिवाद जनाउँदै नारा लगाएका थिए।
नगरपालिकाका प्रवक्ता जंगबिर रोकायाले संविधान जोगाउनु आजको प्रमुख आवश्यकता भएको बताउँदै राष्ट्रिय एकताको जगलाई सुरक्षित राख्न सबै नागरिक सजग हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “संबिधान जोगाऔं, देश बचाऔं भन्ने मूल नाराका साथ हामीले संयुक्त आन्दोलन थालेका छौँ। यो बुढिनन्दा नगरपालिकाको अभियान मात्र नभएर सम्पूर्ण नेपाली जनताको साझा आन्दोलन रहेको बताउनुभयो। संविधान कार्यान्वयनमा अवरोध गर्ने शक्ति र गतिविधिलाई जनशक्तिको बलले निरुत्साहित गर्नुपर्ने बताउनुभयो।
रोकायाले शान्तिपूर्ण र लोकतान्त्रिक आन्दोलनमार्फत मात्र देशलाई सुरक्षित र स्थिर बनाउन सकिने बताउँदै सिमाना सुरक्षामा सरकार गम्भीर हुनुपर्ने माग समेत राख्नुभयो। उहाँका अनुसार विदेशी हस्तक्षेप बढ्दै गएको सन्दर्भमा स्थानीय तहदेखि संघीय तहसम्म सबै जिम्मेवार निकायले सतर्कता अपनाउनुपर्ने बेला आएको छ।
र्यालीमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले संविधानको संरक्षणलाई आफूहरुको साझा दायित्व भएको बताएका छ्न। उनीहरुले संविधानमाथि हुने कुनै पनि आक्रमणलाई सहन नहुने चेतावनी दिँदै सबै दल र नागरिकले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरुले संविधानलाई अस्थिर बनाउन खोज्ने तत्वविरुद्ध दृढता देखाएका थिए। उनीहरुको भनाइमा, संविधानलाई कमजोर बनाउन खोज्ने प्रयास रोकिएन भने देश फेरि अस्थिरताको बाटोमा जान सक्ने खतरा बढ्दछ। त्यसैले गाउँदेखि शहरसम्म, प्रत्येक नागरिकले सचेत भएर देश र संविधानको पक्षमा उभिनुपर्ने उनीहरुको धारणा थियो।
शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उक्त र्यालीले बजार क्षेत्रमा विशेष उत्साह र जनचेतना फैलाएको सहभागीहरुको अनुभव छ। सडकमा उत्रिएका सर्वसाधारणले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको पक्षमा स्वर उठाउनु देशभक्तिको प्रतिबिम्ब भएको बताएका थिए।
र्यालीका क्रममा युवादेखि वृद्धसम्म, महिला तथा पुरुष सबैको सक्रिय उपस्थिति थियो। सहभागीहरुले हातमा प्लेकार्ड बोकेर संविधानको कार्यान्वयन र राष्ट्रिय हितका लागि ऐक्यबद्धता प्रकट गरेका थिए।
समग्रमा, बुढिनन्दा नगरपालिकाले आयोजना गरेको यो संयुक्त शान्तिपूर्ण र्यालीले संविधानको रक्षा र राष्ट्रिय स्वाभिमानको पक्षमा जनमत निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको देखिएको छ। स्थानीय स्तरमा सुरु भएको यो आन्दोलनले राष्ट्रिय स्तरमा समेत व्यापक सन्देश दिएको सहभागीहरुको विश्वास छ।
