मुगुको दुर्गम सोरु गाउँपालिकाले जिल्लाबाहिर रहेका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीका लागि नेपालगञ्जमा वैकल्पिक सेवा केन्द्र स्थापना गरी १०७ जनाको भत्ता नविकरण गरेको छ।
रोजगार, अध्ययन, उपचार लगायतका कारणले काठमाण्डौं, बाँके, कैलाली, दाङ, सुर्खेतलगायत जिल्लामा बस्दै आएका लाभग्राहीलाई लक्षित गरी सोरु गाउँपालिकाले भदौ २६ देखि ३० सम्म बाँकेको राँझामा सेवा केन्द्र सञ्चालन गरेको हो।
सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार, “गत वर्ष ३ हजार ३९ जनाले नविकरण गरेका थिए, यस वर्ष बायोमेट्रिक प्रणाली लागु भएपछि हालसम्म २ हजार २ सय ४ जनाले मात्र नविकरण गरेका छन्। छुटेका ५ सय ३२ जनालाई समेट्न नेपालगञ्जमा सेवा केन्द्र खोलिएको हो।”
वडा नम्बर २ र ९ का सचिव विक्रम यादवका अनुसार, वैकल्पिक सेवा केन्द्रमार्फत १०७ जनाको बायोमेट्रिक नविकरण गरिएको छ।
सोरु गाउँपालिका–६ का ७१ वर्षीय लालबहादुर शाही दमको उपचारका लागि बाँकेमा बस्दै आउनुभएको छ। उहाँले भन्नुभयो “भत्ता नविकरण गर्न हरेक वर्ष मुगु जानु निकै गाह्रो हुन्थ्यो। गाउँपालिकाले नेपालगञ्जमै सेवा दिएपछि सहज भएको छ।”
सोरु–६ कै तुलकली शाहीले पनि आँखाको उपचारका क्रममा बाँकेमा बसेको बताउँदै, “सरकारको भरमा बाँचिरहेको अवस्थामा यस्तो सेवा पाएर राहत महसुस भएको छ,” भन्नुभयो।
बस तथा हवाइ दुबै माध्यमबाट वर्षायाममा मुगु पुग्न कठिन हुने र करिब २० हजार रुपैयाँ खर्च हुने बाध्यताले धेरै लाभग्राही भत्ता नविकरणबाट वञ्चित हुँदै आएका थिए।
बायोमेट्रिक प्रणालीअनुसार नविकरण गर्न लाभग्राहीले नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा परिचयपत्र, जन्मदर्ता प्रमाणपत्र, संरक्षकको परिचयपत्र, अपाङ्गता परिचयपत्र वा मृत्युदर्ता (एकल महिलाका लागि) जस्ता आवश्यक कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको थियो।
कर्णाली प्रदेशको दुर्गम बस्तीमा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यो सेवा केन्द्र सोरु गाउँपालिकाको एक उदाहरणिय कामका रूपमा हेरिएको छ। यस्तो अभ्यास अन्य दुर्गम पालिकाहरूले पनि अनुकरण गर्न सक्ने स्थानीय सामाजिक विकासकर्मीको भनाइ छ।गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीको पहलमा कार्यपालिकाबाट निर्णय भएर सेवा केन्द्र सञ्चालन गरिएको हो।
