मुगुको सोरु गाउँपालिकामा संविधान दिवस भव्य रूपमा मनाइने

कर्णाली प्रदेश बिचार मुख्य समाचार

मुगु — सोरु गाउँपालिकाले यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ भव्य रूपमा मनाउने तयारी गरेको छ। बिहीबार गाउँपालिकाले सूचना जारी गर्दै असोज ३ गते शुक्रबार बिहानदेखि विविध कार्यक्रमसहित दिवस मनाउने जानकारी दिएको हो।
नेपालको संविधान २०७२ जारी भएको एक दशक पुगेको अवसरमा संविधान दिवसलाई ऐतिहासिक रूपमा मनाइने जनाइएको छ। सोही दिन बिहान ठिक ८ बजे बजार क्षेत्रमा प्रभातफेरी तथा सरसफाइ अभियान सञ्चालन गरिनेछ भने साँझ साढे ५ बजे गाउँपालिका कार्यालय प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम हुने सूचनामा उल्लेख गरिएको छ।
गाउँपालिकाले जारी गरेको सूचनामा स्थानीय राजनीतिक दलका प्रतिनिधि, व्यापारी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, बुद्धिजीवीदेखि सर्वसाधारण सोरुबासी सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।
संविधान दिवस केवल औपचारिकता नभई मुलुकको लोकतान्त्रिक यात्राको सम्मान भएको भन्दै गाउँपालिकाले सो दिवसलाई सामूहिक एकताको पर्वका रूपमा मनाउन सबैलाई आमन्त्रण गरेको छ।
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत पवित्रा शाहीले हस्ताक्षरित सूचनामा “संविधानले दिएको अधिकार र कर्तव्यलाई स्मरण गर्दै राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यप्रति प्रतिवद्धता प्रकट गर्ने अवसरका रूपमा यस दिवसलाई लिनुपर्ने” भनिएको छ।

Leave a Reply