सोरु गाउँपालिकामा संविधान दिवस भव्यताका साथ सम्पन्न, राष्ट्रिय एकता र समृद्धिको प्रतिवद्धता व्यक्त

कर्णाली प्रदेश मुख्य समाचार राजनीति

‎मुगु — सोरु गाउँपालिकाले “राष्ट्रिय एकता, अधिकार र समृद्धिको आधार : संविधान” भन्ने मुल नाराका साथ १०औं संविधान दिवस भव्यताका साथ मनाएको छ। सोरुकोट बजार परिक्रमा गर्दै सरसफाई सहितको प्रभातफेरी कार्यक्रमले दिवसको शुरुवात गरिएको थियो।
‎कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीले नेपालको संविधान हजारौं संघर्ष र बलिदानको फलस्वरूप प्राप्त भएको उल्लेख गर्दै यसको मर्म र भावना अनुसार सबैले इमानदार र प्रभावकारी प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भर्खरै GenZ आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो।

देशको सम्पत्ति जलेर खरानी बनेको पीडादायी अवस्थाको स्मरण गर्दै शाहीले संविधानलाई जोगाउनु नै देशलाई जोगाउनु हो भन्दै सोरुबासीलाई बडादशैंको शुभकामना समेत व्यक्त गर्नुभयो।
‎नेकपा एमालेका प्रदेश कमिटी सदस्य अशोकलाल बुमीले लोकतन्त्रको रक्षा सबै नेपालीको साझा जिम्मेवारी भएको बताउँदै संविधानले अझ जनताको भलाई गर्ने विश्वास व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष लालु धामीले संविधानविरुद्धका गतिविधि सचेत रुपमा रोक्नुपर्नेमा जोड दिनुभयो।
‎नेपाली कांग्रेस सोरु गाउँकार्य समिति सचिव नरबहादुर शाहीले संविधानको रक्षा नगरे जनताले दु:ख भोग्नुपर्ने चेतावनी दिँदै “संविधान रहोस्, बाँचिरहोस्” भन्ने शुभकामना व्यक्त गर्नुभयो।

गाउँपालिका उपाध्यक्ष केशर बहादुर शाहीले राज्यले भोगेका ठूला क्षतिहरू स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा जनविश्वास कायम राख्न अबका प्रयासहरू निर्णायक हुने टिप्पणी गर्नुभयो।त्यस्तै उहाँले स्वर्गिय शुसिल कोईरालाले जनताको हातमा संबिधान थामिदिएकोमा उच्च सम्मान ब्यक्त गर्नुभयो।
‎संविधान दिवसको अवसरमा प्रमुख अतिथि अध्यक्ष शाहीले संविधानले सबै नागरिकलाई समान अवसर, सेवा र सुविधा पहुँच गराउनुपर्नेमा जोड दिनुभयो। उहाँले सुशासनमार्फत बेथितिलाई अन्त्य गर्दै समुन्नत राष्ट्र निर्माणतर्फ नेपाल छिट्टै पुग्ने विश्वास व्यक्त गर्नुभयो।
‎कार्यक्रममा गाउँपालिका अध्यक्ष धर्म बहादुर शाही, उपाध्यक्ष केशर बहादुर शाही, राजनीतिक दलका नेताहरू, गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, व्यवसायी र बजारवासीको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सञ्चालन गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख विनोद शाहीले गर्नुभएको हो।
‎यसैबीच सोरुकोटका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूले पनि संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए।
‎संविधान दिवसको अवसरमा सोरु गाउँपालिकाले राष्ट्रिय एकताको सन्देश मात्र नभएर वर्तमान असमानता, अव्यवस्था र आन्दोलनका बीच संविधानकै मर्मलाई आत्मसात गर्दै समृद्ध नेपाल निर्माणतर्फ दृढ प्रतिबद्धता प्रकट गरेको छ।

Leave a Reply