मुगु — दशैं–तिहारलाई लक्षित गरी मुगुको सोरु गाउँपालिकामा सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय सोरुले आइतबारदेखि सहुलियत दरमा चामल बिक्री गर्न थालेको हो।
डिपोका प्रमुख आयुस चौधरीका अनुसार सहुलियत मूल्य पसलमार्फत उपभोक्ताले दुई प्रकारका चामल पाउनेछन्। बजार मूल्यभन्दा प्रतिकिलो ५ रुपैयाँ सस्तो दरमा उपलब्ध हुने सोना मन्सुली मध्यम चामल ६६ को सट्टा ६१ रुपैयाँमा र अरुवा मोटा चामल ६४ को सट्टा ५९ रुपैयाँमा बिक्री भइरहेको छ। यस हिसाबले उपभोक्ताले प्रति बोरामा १२५ रुपैयाँसम्मको छुट पाउनेछन्।
हालसम्म ६० क्विन्टल चामल सोरुमा पुर्याइएको र सोमबार थप ६५ क्विन्टल आउने तयारी भएको प्रमुख चौधरीले जानकारी दिनुभयो। दशैंको मेलाको भीडलाई ध्यानमा राखी वडा नं ४ भिईमा पठाइने सो चामलको ढुवानी खर्च गाउँपालिकाले बेहोर्ने व्यवस्था मिलाइएको छ। बाढीपहिरोका कारण ढुवानीमा केही ढिलाइ भएको समेत उहाँले बताउनुभयो।
सहुलियत पसलबाट लाभान्वित भएका वडा नं ६ का उपभोक्ता कुम्भ मल्लले १२५ रुपैयाँ छुटले पनि ठूलो राहत पुगेको प्रतिक्रिया दिनुभयो।
डिपोका अनुसार उपभोक्ताका लागि ४ सय बोरा चामल छुट्याइएको छ। सोरु गाउँपालिकाका ११ वटै वडामा वितरण गर्ने गरी चामल पठाइने र सहुलियत पसल कार्तिक १० गतेसम्म सञ्चालन हुने जनाइएको छ। तर, सडक अवरुद्ध हुने समस्या दोहोरिरहँदा समयमा चामल आपूर्ति गर्न कठिनाइ हुने भन्दै गोदाममा मौज्दात नरहेको डिपोले जनाएको छ।
