मुगु- जिल्लाको सोरु गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालयमा सोमबार झण्डा पूजा गरिएको छ। कार्यालयको प्राङ्गणमा विधिपूर्वक पण्डितमार्फत पूजा सम्पन्न गर्दै झण्डा फहराइएको हो।
इलाका प्रशासन कार्यालयका प्रमुख भीमराज सेजुवालले झण्डा पूजाको महत्वबारे जानकारी दिँदै राष्ट्रको प्रतीक झण्डाप्रति सम्मान प्रकट गर्नु नै यसको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँका अनुसार कार्यालय, संस्था वा राष्ट्रसँग जोडिएका झण्डा कपडाको टुक्रा नभई अस्तित्व, गौरव र मर्यादाको प्रतीक भएकाले यसको पूजा गर्नाले श्रद्धा र ऐक्यबद्धताको सन्देश दिने उहाँले बताउनुभयो ।
पूजामा कार्यालयका कर्मचारी, स्थानीय सरोकारवालाहरु र सुरक्षाकर्मीहरुको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले झण्डा पूजाले राष्ट्रप्रतिको आस्था, विश्वास र एकता झल्काउने धारणा राखेका थिए। उनीहरूले यस्ता संस्कारले परम्परागत नयाँ पुस्तामा पनि राष्ट्रप्रतिको गर्व र जिम्मेवारीबोध जगाउने विश्वास व्यक्त गरेका छन्।
नेपालमा झण्डा पूजाको धार्मिक र सांस्कृतिक दुवै महत्व रहँदै आएको छ। हिन्दू संस्कार अनुसार कुनै पनि महत्वपूर्ण कार्यको थालनी अघि पूजा गर्ने चलन छ। यसरी झण्डा फहराउँदा पनि पूजासहित गर्ने परम्परा निरन्तरता पाइरहेको छ। यसलाई संस्थागत कार्यप्रति निष्ठा, मर्यादा र अनुशासनको प्रतिकका रूपमा लिइन्छ।
सो अवसरमा प्रमुख सेजुवालले कार्यालयको सेवा प्रभावकारी बनाउन कर्मचारीलाई आह्वान गर्नुभयो। उहाँले राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर इमानदार भएर काम गर्ने संकल्पका साथ झण्डा फहराइएको उल्लेख गर्नुभयो।
झण्डा पूजाको कार्यक्रमले कार्यालयको गरिमा मात्र होइन, स्थानीय समुदायमा पनि राष्ट्रप्रतिको निष्ठा र एकताको सन्देश फैलाएको छ।