सोरु गाउँपालिकाले एकैपटक करोडौंका योजनाको ठेक्का आह्वान

अर्थ कर्णाली प्रदेश मुख्य समाचार शिक्षा सडक सवारी

सन्तोष प्रसाद जोशी

मुगुको सोरु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ६० लाखदेखि २ करोड ७६ लाख रुपैयाँसम्म लागतका गौरवपूर्ण योजना एकैपटक ठेक्का आह्वान गरेको छ। गाउँपालिकाले स्थायित्व, पुर्वाधार विकास र पर्यटन प्रवर्द्धनलाई लक्षित गरी बिभिन्न वडामा निर्माण तथा संरक्षण कार्यक्रम अघि बढाएको जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिहँराज डाँगीका अनुसार सो योजनाहरू तोकिएको समयमै सम्पन्न गराउन सम्बन्धित निकाय र ठेकेदार कम्पनीहरुलाई सचेत गराइएको छ। “गाउँको विकासका लागि तोकिएको अवधिभित्र काम सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार बनाइनेछ,” डाँगीले भन्नुभयो।
गाउँपालिकाले ठेक्का आह्वान गरेका प्रमुख योजनामध्ये जिमा–ख्याल्च–गहताडी बस्ती संरक्षण तथा पहिरो नियन्त्रण कार्यक्रमको लागत ८६ लाख ३ हजार ५ सय ९० रुपैयाँ ६२ पैसा रहेको छ। सोरुकोट–पुरुमुरु खानेपानी मर्मत तथा निर्माण आयोजनाको लागत ६८ लाख ८९ हजार ३ रुपैयाँ ३२ पैसा तोकिएको छ।
त्यस्तै कालैंदेखि–खत्याड सडक स्तरोन्नति तथा स्लोप स्टेबलाइजेशन कार्यका लागि ६० लाख २३ हजार ३ सय ३६ रुपैयाँ १८ पैसा, सिपदेखि सिरुपाटा सडक स्तरोन्नति योजना ६० लाख २७ हजार ९ सय ४७ रुपैयाँ ६८ पैसा, र नेरघाटदेखि ताँजागाउँ सडक स्तरोन्नति योजना ६७ लाख २६ हजार १ सय ६४ रुपैयाँ ७ पैसा लागतमा ठेक्का आह्वान गरिएको छ।
यससँगै तातोपानी पर्यटन पूर्वाधार विकास कार्यक्रम सबैभन्दा ठुलो लागतको योजना बनेको छ, जसको अनुमानित लागत २ करोड ७६ लाख रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका इञ्जिनियर प्रबिण अर्यालका अनुसार यी सबै योजनाको ठेक्का प्रक्रिया एक महिना अघि नै सुरु भइसकेको छ। “निर्माण कार्य समयमै सम्पन्न गर्न र गुणस्तरीय काम सुनिश्चित गर्न प्राविधिक टोलीले निगरानी गर्नेछ,” अर्यालले बताउनुभयो।
सोरु गाउँपालिकाले सार्वजनिक पूर्वाधार विस्तारसँगै पर्यटन प्रवर्द्धन, सडक सञ्जाल सुधार र सुरक्षित बस्ती निर्माणलाई आगामी वर्षको मुख्य प्राथमिकता बनाएको जनाएको छ।

Leave a Reply