सोरु गाउँपालिकामा नेपाल टेलिकमको फोर–जी टावर स्थापना हुने

कर्णाली प्रदेश बिशेष मुख्य समाचार शिक्षा समाज

‎मुगु जिल्लाको सोरु गाउँपालिकाको केन्द्रमा नेपाल टेलिकमको फोर–जी (4G) मोबाइल टावर स्थापना हुने भएको छ। स्थानीय बासिन्दाको लामो प्रतीक्षापछि गाउँमै उच्चगति इन्टरनेटसहितको मोबाइल सेवा सञ्चालनका लागि नेपाल टेलिकमले साइट स्वीकृति (Site Approval) प्रदान गरेको हो।
‎ सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीको सक्रिय पहलमा सम्भव भएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष शाहीको निरन्तर समन्वय र प्रयासपछि टेलिकमको केन्द्रीय कार्यालयले आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी फोर–जी टावर निर्माणका लागि अनुमति दिएको हो।
‎नेपाल टेलिकम वायारलेस सेवा निर्देशनालयले जारी गरेको स्वीकृति पत्रअनुसार सोरुको जिमासोरुकोटमा स्थापना हुने टावरको साइट आईडी MWDR332 रहनेछ। उक्त टावर १६ मिटर अग्लो RTT प्रकारको हुनेछ, जसले आसपासका बस्तीहरूमा गुणस्तरीय मोबाइल सञ्चार र इन्टरनेट पहुँच उपलब्ध गराउनेछ।
‎फोर–जी टावर निर्माणपछि सोरु गाउँपालिकाका बासिन्दाले अब फोन कल र इन्टरनेट दुवैमा सहज पहुँच पाउने भएका छन्। अहिले गाउँमा कमजोर सिग्नलका कारण सञ्चारमा ठूलो कठिनाइ हुँदै आएको थियो।
‎गाउँपालिका अध्यक्ष शाहीले भन्नुभयो।
‎“हाम्रो उद्देश्य सबै गाउँसम्म आधुनिक सञ्चार सेवा पुगोस् भन्ने हो। अब टावर बनेपछि गाउँलेहरू शिक्षादेखि व्यापारसम्म सबै क्षेत्रमा डिजिटल पहुँचका फाइदा लिन सक्नेछन्।”
‎नेपाल टेलिकमले फोर–जी सेवा सञ्चालनका लागि आवश्यक उपकरणहरू छिट्टै पठाउने तयारी गरेको छ। टावर निर्माण कार्य आगामी केही हप्ताभित्र सुरु हुने जनाइएको छ।
‎यससँगै मुगुको दुर्गम क्षेत्र सोरु गाउँपालिकामा सञ्चार सेवाको नयाँ युग सुरु हुने आशा गरिएको छ।

Leave a Reply