अदानचुली–३ स्थित क्षेत्रपाल विद्यालय आगलागीबाट पूर्णरूपमा नष्ट

कर्णाली प्रदेश मुख्य समाचार

हुम्ला, कात्तिक २०।


हुम्ला जिल्लाको अदानचुली गाउँपालिका–३ मा रहेको श्री क्षेत्रपाल आधारभूत विद्यालय बुधबार राति आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ।

प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार राति करिब साढे ९ बजे विद्यालयको माथिल्लो तलाबाट आगो लाग्न सुरु भएको थियो। आगलागीबाट दुई तले विद्यालय भवनसँगै दुई थान कम्प्युटर डेक्सटप, ल्यापटप, प्रिन्टर, खेलकुद तथा सांस्कृतिक सामग्री, डेक्स–बेन्च लगायत ३९ प्रकारका सामग्री नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

राति लागेको आगो प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूको सक्रियतामा ढिलो गरी राति नै नियन्त्रणमा लिइएको थियो।

आगलागीको कारण खुल्न बाँकी रहे पनि विद्युत् सर्ट सर्किट वा अज्ञात समूहको संलग्नता हुनसक्ने आशंका प्रहरीले गरेको छ। यसबारे सत्यतथ्य अनुसन्धान जारी रहेको र प्रहरीले मुचुल्का तयार गर्ने कार्य सुरु गरेको जनाएको छ।

प्रहरीको मुचुल्का प्रतिवेदनपछि मात्र क्षतिको यकिन विवरण आउने बताइएको छ।
विद्यालय भवन जलेर नष्ट भएपछि पठन–पाठन कार्य प्रभावित हुने भएको विद्यालय स्रोतले जनाएको छ।


Leave a Reply