सोरुकोट बजारमा सनसाइन स्कुलद्वारा सरसफाइ

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा समाज

‎मुगु – मुगुको सोरु गाउँपालिका केन्द्र सोरुकोट बजारमा अवस्थित सनसाइन ईङ्लिस मेडियम बोर्डिङ स्कुलले शुक्रबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। ‘सार्वजनिक स्थान सफा राखौं, सभ्य नागरिकको चिनारी देखाऔं’ भन्ने मुल नाराका साथ विद्यालयले बजार सरसफाइ अभियान सञ्चालन गरेको हो।

‎शुक्रबारीय सरसफाइको अवसर पार्दै विद्यालयका विद्यार्थी, शिक्षकहरु सरसफाइ कार्यमा सहभागी भएका थिए। गाउँपालिकाको मुख्य गेटदेखि बजारको परिक्रमा गर्दै उनीहरूले बाटो, पसल वरिपरि र सार्वजनिक स्थलमा फालिएका प्लास्टिक, कागजका टुक्रा, बोतल र अन्य फोहोर–मैला संकलन गरेका थिए।

‎विद्यालयका सहायक प्रिन्सिपल अखिल शाहीका अनुसार सरसफाइ अभियान विद्यालयको नियमित शुक्रवार गतिविधिअन्तर्गत गरिएको बताउनुहुन्छ।, “हामी प्रत्येक शुक्रवार विद्यार्थीलाई सामाजिक जिम्मेवारीबारे सचेत गराउने उद्देश्यले कुनै न कुनै कार्यक्रम सञ्चालन गर्दै आएका छौं। यस पटक सरसफाइ अभियानमार्फत स्वच्छ वातावरणको सन्देश दिन खोजेका हौं।”

‎शाहीका अनुसार विद्यालयले विद्यार्थीहरूलाई  पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक सीप, सामाजिक सचेतना र नागरिक उत्तरदायित्वमा पनि अघि बढाउने प्रयास गर्दै आएको बताउनुभयो । उहाँले बजार क्षेत्र सफा राख्न व्यापारी,प्रहरी चौकी र स्थानीय बासिन्दालाई पनि सचेतनाको सन्देश दिएको बताउनुभयो ।

‎विद्यालयका विद्यार्थीहरू फोहोर संकलन गर्दै ‘हाम्रो बजार, हाम्रो जिम्मेवारी’ जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका थिए। विद्यार्थीहरूले सरसफाइका क्रममा फोहोर उचित स्थानमा फाल्न अनुरोध गर्दै स्थानीयलाई सचेत गराएका थिए।

‎स्थानीय बासिन्दाहरूले विद्यालयको यो पहलप्रति खुसी व्यक्त गर्दै यसले सामाजिक एकता र सरसफाइको संस्कृतिलाई बल पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। विद्यालयले गरेको यस्तो सामाजिक अभियानले सोरुकोट बजारलाई थप स्वच्छ र आकर्षक बनाउन मद्दत पुर्‍याउने छ।

‎विद्यालयले आगामी दिनहरूमा पनि यस्ता सामाजिक र शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ। सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भएपछि सहभागी विद्यार्थी र शिक्षकहरूले सामूहिक रूपमा बजार क्षेत्र निरीक्षण गरी आगामी दिनमा अझ प्रभावकारी रूपमा सरसफाइ कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका छन्।

Leave a Reply