मुगु — ‘सुशासित संस्था, समुन्नत समाज’ भन्ने परिकल्पना बोकी २०६० सालमा स्थापना भएको ग्रामिण सामुदायिक संस्था (GSS) मुगु ले जिल्लामा सामुदायिक विकासका विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ।
संस्थाले सोरु गाउँपालिकाका ११ वटै वडामा शिक्षा सुदृढीकरण, अपांगता अधिकार, तथा उपचार र पुनःस्थापना परियोजना सञ्चालन गर्दै आएको हो।
सोरु गाउँपालिकामा पालिका स्तरमा गठन भएको अपांगता सञ्जालको संस्थागत तथा क्षमता विकास कार्यशाला गोष्ठी सम्पन्न भएको छ।तीन दिनसम्म (कार्तिक २३, २४ र २५ गते) सोरुकोटमा सञ्चालित उक्त गोष्ठी आज औपचारिक रूपमा समापन गरिएको हो।
तीन दिने कार्यशाला GSS मुगु को आयोजना, UMN मुगु को आर्थिक सहयोग र सोरु गाउँपालिका को समन्वयमा सम्पन्न गरिएको थियो।कार्यशालाले पालिका स्तरीय अपांगता सञ्जालको ३ वर्षे रणनीतिक योजना तय गरेको छ।
GSS मुगुका कार्यक्रम संयोजक बासु रावल का अनुसार कार्यशालामा अपांगता नीतिहरू, अधिकार सशक्तीकरण, निर्णय तहमा सहभागिता, उपचार र पुनर्स्थापना सेवा, जीविकोपार्जन तथा रोजगारी वृद्धि सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।
त्यस्तै, लैङ्गिक समानता, अपांगता र समावेशीकरण व्यवस्थापक बीरबहादुर बस्याल ले सशक्तिकरणमार्फत अपांगता भएका व्यक्तिहरूलाई सामाजिक तथा आर्थिक निर्णय प्रक्रियामा सहभागी गराउने लक्ष्य रहेको बताउनुभयो।
गोष्ठीमा सोरु गाउँपालिकाका विभिन्न वडा सञ्जालबाट २८ जना प्रतिनिधि सहभागी थिए।
प्रमुख प्रशिक्षकमा बीरबहादुर बस्याल, सहयोगी प्रशिक्षकहरूमा परियोजना व्यवस्थापक नेत्रबहादुर शाही र तुलाराम धमला रहेका थिए।
कार्यशालामा सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाही र महिला तथा बालबालिका शाखा प्रमुख पुस्पा मल्ल तीनै दिन सक्रिय रूपमा सहभागी थिए।
समापन कार्यक्रम सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाही को अध्यक्षतामा सम्पन्न भएको थियो।उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिंहराज डाँगी, उपाध्यक्ष तथा अपांगता समन्वय समिति संयोजक केशरजङ्ग शाही,महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुस्पा मल्ल लगायत अन्य जनप्रतिनिधि र सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले अपांगता भएका व्यक्तिहरूको सहभागिता र दिगोपनालाई नीतिगत, सामाजिक तथा आर्थिक दृष्टिले सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।
सञ्जालका सदस्य कर्णप्रसाद आचार्य ले सात बुँदे निष्कर्षसहित वडा र गाउँपालिकाको समन्वयमा अपांगता सम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाउनुपर्ने सुझाव दिनुभयो।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत शिंहराज डाँगीले पालिकाको बजेट अपांगमैत्री हुने उल्लेख गर्दै, आयमूलक तालिमहरूमा सहभागी हुन इच्छुकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
समापन मन्तव्यका क्रममा गाउँपालिका अध्यक्ष धर्मबहादुर शाही ले अपांगता भएका व्यक्तिहरूका कार्यक्रमहरू पारदर्शी र परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले आकस्मिक स्वास्थ्य समस्या भएका अपांग व्यक्तिहरूका लागि विशेष खर्च व्यवस्थापनको तयारी भइरहेको जानकारी दिंदै, सबै संस्थाहरूलाई मन जित्ने सोचका साथ काम गर्न आग्रह गर्नुभयो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष शाहीले भन्नुभयो।
“सुधारका क्रियाकलापमा सबैको सक्रिय सहभागिता आवश्यक छ,”भन्दै आगामी दिनमा पालिकाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउनुभयो।

