मुगु — “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको सम्बर्द्धन” भन्ने मूल नारासहित ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सोरु गाउँपालिकामा आज विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार, पहिचान, समावेशिता र राज्यका सेवासुविधामा पहुँच सुनिश्चित गर्न स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइएको छ।
कार्यक्रम सोरु गाउँपालिकाको प्राङ्गणमा दिउँसो सम्पन्न भयो। कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगीले आफू पालिकामा रहने सबै समय अपाङ्गता भएका व्यक्तिहरूको हितमा पारदर्शी ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अपाङ्गता परिचयपत्र वितरणदेखि लिएर सेवा सुविधासम्म सबै कार्यमा जिम्मेवारीपूर्वक अघि बढ्ने बताउनुभयो।
गाउँपालिका अध्यक्ष धर्म शाहीले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान र माया गर्नुपर्ने भन्दै स्थानीय तहले उनीहरूको क्षमता अभिवृद्धि, पहुँच र जीवनस्तर सुधारमा निरन्तर लाग्नुपर्ने धारणा राख्नुभयो। उहाँले परिचयपत्र वितरणदेखि सहयोग सामग्री उपलब्ध गराउने कार्यसम्म सबै क्षेत्र पारदर्शी र परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो।
यसैगरी, ग्रामीण सामुदायिक संस्था (GSS) का कार्यक्रम सुपरभाइजर धनबहादुर मल्लले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरूका लागि नियमित सेवा उपलब्ध गराउनुपर्ने, वडास्तरमै संजालका सदस्यहरूलाई बजेट व्यवस्था गरी जीविकोपार्जन, क्षमता विकास र सहायक सामग्री उपलब्ध गराउनुपर्ने सुझाव राख्नुभयो।
महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको कार्यक्रममा शाखा प्रमुख पुष्पा मल्लले १, ११ र विभिन्न अन्य वडाका १२ वटा अपाङ्गता संजाल सदस्यलाई व्यक्तिगत सरसफाइका सामग्री वितरण गर्नुभएको जानकारी दिनुभयो। १२, ६ र अन्य केही टाढाका वडाबाट आएका सहभागीका लागि यातायात खर्चको व्यवस्था गरी सहभागिता सुनिश्चित गरिएको उहाँले बताउनुभयो। साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरणका लागि छुट्टै बजेट व्यवस्थापन गरिएको पनि जानकारी गराउनुभयो।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले गीत–संगीत प्रस्तुत गर्दै आफ्नो पीडा र जीवनी अनुभव बाँडेको दृश्य भावनात्मक तथा प्रेरणादायक बनेको थियो। कार्यक्रममा आवश्यक सहयोग सामग्रीहरू समेत वितरण गरिएको थियो।
दिवसका अवसरमा आयोजित कार्यक्रम गाउँपालिका अध्यक्ष धर्म शाहीले समापन गर्नुभएको थियो।उक्त कार्यक्रमलाई GSS INF र डाडो नेपालले आर्थिक सहयोग गरेका थिए।कार्यक्रमको सन्चालन वन बाताबरण तथा बिपद शाखा प्रमुख बिनोद शाहीले गर्नुभएको थि

