मुगु जिल्लाको सोरु गाउँपालिकामा महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले १० दिने उद्यमशीलता सिप विकास तालिम सुरु गरिएको छ। उपाध्यक्षको पहलमा सञ्चालन गरिएको लघु उद्यम सिप विकास तालिम गाउँपालिकाको सभा हलमा आज एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरिएको हो।
तालिमको उद्घाटन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले ब्यानर वाचन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि यस्ता सिपमूलक तालिमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो। सीप र ज्ञानको अभावका कारण धेरै महिलाहरू घरमै सीमित हुनुपरेको अवस्था रहेको उल्लेख गर्दै उहाँले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न सकिए महिलाहरू आत्मनिर्भर बन्न सक्ने धारणा व्यक्त गर्नुभयो।
खाली समयको सदुपयोग गर्दै महिलाहरूलाई उद्यमशीलतातर्फ जोड्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। स्थानीय स्रोत, साधन र सीपको प्रयोग गरी सानो लगानीमा पनि आयआर्जन गर्न सकिने खालका तालिमहरूलाई प्राथमिकतामा राखिएको जनाइएको छ। यसले महिलाहरूको जीवनस्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तालिममा सोरु गाउँपालिकाका ११ वटै वडाबाट करिब १७ जना महिलाहरूको सक्रिय सहभागिता रहेको छ। सहभागी महिलाहरूले तालिमले आफूहरूलाई नयाँ सिप सिक्ने अवसर मिलेको भन्दै खुशी व्यक्त गरेका छन्। उनीहरूले भविष्यमा तालिममा सिकेको सिपलाई व्यवसायको रूपमा अगाडि बढाउने इच्छा समेत व्यक्त गरेका छन्।
१० दिने सिप विकास तालिममा डल कुसन निर्माणसम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिने प्रशिक्षक गोमा डाँगीले जानकारी दिनुभयो। उहाँका अनुसार तालिम अवधिभर कच्चा पदार्थको छनोट, डिजाइन तयार गर्ने तरिका, सिलाइ तथा फिनिसिङका विभिन्न विधिहरू सिकाइनेछ। तालिमपछि महिलाहरूले घरमै बसेर पनि डल कुसन निर्माण गरी बजारमा बिक्री गर्न सक्ने अवस्था सिर्जना हुने उहाँले बताउनुभयो।
प्रशिक्षक डाँगीले महिलाहरूलाई सिप सिकाएर स्वरोजगारतर्फ जोड्न सकिए पारिवारिक आर्थिक अवस्थामा सुधार आउने मात्र होइन, समाजमा महिलाको आत्मविश्वास र निर्णय क्षमतामा समेत वृद्धि हुने उल्लेख गर्नुभयो। यस्ता तालिमहरूले महिलाहरूलाई परनिर्भर मानसिकताबाट बाहिर निकाल्दै उद्यमशील सोचको विकास गराउने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिकाले आगामी दिनमा पनि महिलाहरू, युवा तथा विपन्न वर्ग लक्षित सिपमूलक तालिमहरू सञ्चालन गर्ने योजना रहेको जनाएको छ। स्थानीय तहको सक्रियतामा सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले दीगो आर्थिक विकासमा टेवा पुग्ने र महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

