मुगुको सोरु गाउँपालिकामा आइतबार देखिएको एउटा दृश्यले दिनभरि मन छाडेन।

कला साहित्य बिचार मुख्य समाचार समाज

‎त्यो दृश्य कुनै भाषणले सिर्जिएको थिएन, न त कुनै औपचारिक कार्यक्रमले। त्यो दृश्य थियो—एक आमाको मौन संघर्ष, जसले न त गुनासो गर्‍यो, न त आँसु झार्‍यो, तर जसले हरेक संवेदनशील मनलाई झक्झक्यायो।

‎पालिका कार्यालयको एउटा कुनामा, फाइलका थुप्राबीच, एक महिला कर्मचारी आफ्नो कर्तव्यमा तल्लीन हुनुहुन्थ्यो। उमेरले करिब २५–२६ वर्ष जस्तो देखिने उहाँको काखमा दुई वर्षको नन्हा बालक थियो। बालक कहिले आमाको घाँटीमा टाँसिन्थ्यो, कहिले निदाउन खोज्थ्यो। तर आमाका हात भने रोकिएका थिएनन्—कलम चलिरहेको थियो, फाइल पल्टिरहेको थियो, जिम्मेवारी अघि बढिरहेको थियो।

‎त्यो दृश्य हेर्दा लाग्यो—आमा हुनु भनेको केवल जन्म दिनु होइन, जिम्मेवारीलाई साससँग साट्नु रहेछ।‎म उहाँको नजिक पुगेँ।‎“नमस्ते म्याम,” भनेँ।‎उहाँले हल्का थकित तर सभ्य मुस्कानसहित “नमस्ते” फर्काउनुभयो।‎काखमा बच्चा देखेर मनमा प्रश्न उब्जियो।‎“बाबु काखमै किन म्याम?”

‎उहाँ केही क्षण मौन रहनुभयो। अनि शान्त स्वरमा भन्नुभयो।‎“घरमा कोही छैन सर। जागिरे जिन्दगी हो… हामी आमा–छोरा दुई जना मात्रै छौं।”‎त्यो एउटा वाक्य थियो, तर त्यसमा हजारौँ कथाहरू अटाएका थिए। पीडा, बाध्यता, एक्लोपन र जिम्मेवारी—सबै मिसिएको एउटा सास।

‎“पत्रकारले जे देख्छ, त्यही लेखिदिन्छ,” भन्नुहुँदा उहाँको स्वरमा डर होइन, सत्यको स्वीकारोक्ति थियो।‎मैले भनेँ—“मेरो पेशा नै आँखाले देखेको सत्य लेख्ने हो।”

‎नाम सोध्दा उहाँ अलि लजाउनुभयो।‎“पुस्पा मल्ल,” भन्नुभयो।‎घर जुम्ला, चन्द्रनाथ–१।‎ती नाम र ठेगाना सामान्य थिए, तर त्यस पछाडि असामान्य संघर्ष लुकेको थियो।‎जागिर अवधि सोध्दा थाहा भयो—तीन वर्ष मात्र। आयोगमा नाम निस्केको पनि तीन वर्ष। छोटो समय, तर ठूलो जिम्मेवारी।

‎उहाँको शैक्षिक यात्राले अझै मन छोयो। जुम्लाको चन्द्रनाथ उच्च माध्यमिक विद्यालयबाट अध्ययन पूरा गरी नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा लेखा विषयमा स्नातक तह उत्तीर्ण। त्यसपछि सिधै लोकसेवा पास। सजिलो यात्रा होइन, तर दृढ इच्छाशक्तिको परिणाम।

‎हाल उहाँ सोरु गाउँपालिकामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ। महिलाका पीडा बुझ्ने शाखा, बालबालिकाको अधिकार जोगाउने जिम्मेवारी, ज्येष्ठ नागरिकको सम्मान सुनिश्चित गर्ने दायित्व—यी सबै जिम्मेवारीसँगै उहाँ आफ्नो दुई वर्षे बालकको भविष्य पनि काखमै बोकेर हिँडिरहनुभएको छ।

‎सोरुकोटको चिसो सिरेटो चलिरहेथ्यो। तर उहाँको दैनिकी त्यसभन्दा पनि कठोर छ—चिसो हावा, सीमित साधन, पारिवारिक अभाव र निरन्तर जिम्मेवारी। तर उहाँ थाक्नुभएको देखिँदैनथ्यो।‎पाँच दाजुभाइ–बहिनीमध्ये कान्छी हुनुहुने मल्ल मलाई असाध्यै चलाख लाग्नुभयो।

‎मैले सोधेँ—“तपाईं त धेरै चलाख हुनुहुन्छ होला नि?”
‎उहाँ हाँस्नुभयो—“होइन सर, म त सोझी छु।”‎मैले भनेँ—“चलाख नभई लोकसेवा कसरी पास गर्नुभयो?”‎उहाँले सहजै भन्नुभयो—“कहिलेकाहीँ भाग्यले पनि साथ दिनुपर्छ, तर मेहनत बिना केही हुँदैन।”

‎वैवाहिक अवस्थाबारे सोध्दा उहाँले निर्धक्क साथ भन्नुभयो—“बिहे कालिकोटमा भएको हो।”‎श्रीमान् धर्मराज शाही, पेशाले सुब्बा।‎त्यतिबेलासम्म हिउँदको घाम बिस्तारै बेलडाँडा लागिसकेको थियो। पालिका भवन छायाँले ढाकिँदै थियो। तर त्यो आमाको संघर्ष, साहस र मौन बलिदानले भने मनभरि उज्यालो छरेर गएको थियो।

‎यो कथा पुस्पा मल्लको मात्र होइन।‎यो कथा हो—हजारौँ आमाहरूको, जसले काखमा सन्तान, काँधमा जिम्मेवारी र मनमा सपना बोकेर समाजलाई अड्याइरहेका छन्।‎यस्ता आमाहरू नै राज्यका मौन स्तम्भ हुन्—जो देखिँदैनन्, तर जसबिनाको राज्य कल्पनै गर्न सकिँदैन।

Leave a Reply