सोरुका १८ सामुदायिक बन संरक्षणका लागि सरोकारवालाबीच योजना तर्जुमा गोष्ठी

कर्णाली प्रदेश बिशेष मुख्य समाचार समाज

रुख रोपौं, बन जोगाऔं भन्ने मूल नाराका साथ सब–डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी सोरुमा सम्पन्न भएको छ।
डिभिजन बन कार्यालय मुगु तथा सब–डिभिजन बन कार्यालय सोरुकोटको संयुक्त आयोजनामा गोष्ठी आज सोरुमा सम्पन्न भएको हो। सो कार्यक्रमबारे सब–डिभिजन बन कार्यालय सोरुकोट मुगुमा कार्यरत बन रक्षक खड्कराज मल्लले जानकारी दिनुभएको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि वन संरक्षण, व्यवस्थापन तथा दिगो उपयोगसम्बन्धी महत्त्वपूर्ण योजनाहरू अघि सारिएको गोष्ठीमा बन रक्षक खड्कराज मल्लले कार्यक्रमको उद्देश्य र भावी योजनाबारे स्पष्ट पार्नुभयो।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख दीपबहादुर भण्डारीले पालिकाभित्र अब वन संरक्षणलाई प्राथमिकतामा राखेर सोच्नुपर्ने समय आएको बताउनुभयो। उहाँले चोरी–सिकारी नियन्त्रण, सामुदायिक बनको प्रभावकारी व्यवस्थापन, सुरक्षा निकायसँगको समन्वय तथा पकेट क्षेत्र छुट्याएर योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो।
सामुदायिक बनमा अतिक्रमणका कारण वन विनाश बढ्दै गएको भन्दै उहाँले उपभोक्ता समितिका पदाधिकारीहरूलाई योजना छनोट गर्दा प्राथमिकता र आवश्यकता अनुसार निर्णय गर्न आग्रह गर्नुभयो। साथै काँठछाँट, सामुदायिक भवन निर्माण, अग्निरेखा निर्माण तथा वन डढेलो नियन्त्रणका विषयमा स्थानीयलाई नियमित रूपमा सचेत गराउनुपर्ने बताउनुभयो।
सोरु गाउँपालिकामा हाल १८ वटा सामुदायिक बन रहेका छन्। तर सामुदायिक बनको महत्व र त्यसले दिने फाइदाबारे स्थानीय तहमा अझै पर्याप्त जानकारी नपुगेको उहाँको भनाइ छ। दाउरा काट्दा अनिवार्य रूपमा दर्ता भएका आरा मेसिन मात्र प्रयोग गर्नुपर्ने र नियम उल्लङ्घन गरे कानुनी कारबाही गरिने चेतावनी पनि दिनुभयो।
गोष्ठीमा बुढाकुरिल्ला सामुदायिक बनका अध्यक्षले हरेक वर्ष योजना तर्जुमा भए पनि धेरै योजना कार्यान्वयनमा नपरेको गुनासो व्यक्त गर्नुभयो। उहाँले जडीबुटी, काठ दाउरा चोरी तथा भेडीगुवालाबाट हुने आगलागीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरी, बन कर्मचारी र सामुदायिक बनका पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो।
वन कार्यालय प्रमुख दीपराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोरु गाउँपालिकाका कार्यबाहक अध्यक्ष बिरजंग शाही प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा माध्यमिक विद्यालयस्तरका शिक्षक, प्रहरी चौकी सोरुकोटका प्रहरी निरीक्षक देवबहादुर खड्का, १८ वटा सामुदायिक बनका अध्यक्ष तथा सचिवसहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
गोष्ठीको अन्त्यमा प्रत्येक वडामा देखिएका समस्या पहिचान गरी सोही आधारमा योजना तर्जुमा र कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ। यसले वन संरक्षणसँगै स्थानीय सहभागिता र जिम्मेवारी अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

Leave a Reply