अब केही गर्न सक्छ्न सोरुका महिला

अर्थ कर्णाली प्रदेश बिशेष मुख्य समाचार शिक्षा समाज

मुगु ।जिल्लाको सोरु गाउँपालिकामा महिलाहरूको सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने डल कुसन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
तालिमका क्रममा सहभागी महिलाहरूले लभ कुसन, पाण्डा, खरायो र हाँसजस्ता विभिन्न आकर्षक डल कुसनहरू तयार गरेका छन्। तालिमपछि प्रतिक्रिया दिँदै प्रशिक्षार्थी पूर्णदेबी बुमीले यस तालिमले आफूहरूमा आत्मविश्वास बढाएको बताउँदै, “अब हामी केही गर्न सक्छौँ भन्ने सन्देश यस तालिमले दिएको छ,” भन्नुभयो।
तालिमकी प्रशिक्षक गोमा डाँगीले १० दिनसम्म चिसो मौसमको प्रवाह नगरी माया र ममताका साथ सिकाइ र अभ्यासमा जुटेका सहभागी महिलाहरूको प्रशंसा गर्नुभयो। उहाँले डल कुसन बिक्री गरेर आयआर्जन गर्न सकिने, साना बालबालिकाका लागि खेलौना तथा उपहारका रूपमा समेत प्रयोग गर्न सकिने जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष शिह बहादुर धामीले थोरै सामग्री प्रयोग गरेर पनि ठूलो उपलब्धि हासिल गर्न सकिने बताउनुभयो। थोरै समय निकालेर घरमै बसेर बनाउने सकिने भएकाले यो सीप सबैका लागि उपयोगी रहेको उहाँको भनाइ थियो। उहाँले सिकेको सीपलाई १० दिनमै सीमित नराखी जीवनभर प्रयोग गर्न आग्रह गर्दै सहभागी महिलाहरूलाई शुभकामना व्यक्त गर्नुभयो।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले सिकेका सीपलाई व्यवहारमा उतार्न वडा स्तरमै कार्यक्रम र बजेट छुट्याउन आग्रह गर्नुभयो। उहाँले पछि आयआर्जन गर्न सकिने भएकाले बालविकास तथा आधारभूत तहमा डल कुसन बिक्री गर्न सकिने सम्भावनाबारे समेत जानकारी दिनुभयो। फुर्सदको समयमा युट्युबमार्फत सिकेर पनि सीप विकास गर्न सकिने उदाहरण प्रस्तुत गर्दै प्रशिक्षक गोमा डाँगीले गरेको मेहनतको स्मरण गर्नुभयो।
यो तालिममा २० जना महिलाहरूलाई डल कुसन बनाउने सीप प्रदान गरिएको हो। तालिमबाट तयार गरिएका खेलौनाहरू ११ वटा बालविकास केन्द्रका बालबालिकालाई खेल्न पाउने गरी वितरण गरिने जानकारी दिइएको छ।
यस प्रकारका सीपमूलक तालिमहरूले ग्रामीण क्षेत्रका महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply