सोरुमा विद्यार्थी बिरामी पर्न थाले”

कर्णाली प्रदेश मुख्य समाचार स्वास्थ्य

मुगु ।जिल्लाको सोरु गाउँपालिकामा पछिल्लो समय मौसमी रुघाखोकी प्रकृतिका बिरामी देखिन थालेपछि अभिभावक, शिक्षक र स्थानीयवासीहरू चिन्तित बनेका छन्। विशेषगरी गाउँपालिकाको वडा नम्बर ६ मा रहेको युवा वर्ष आधारभूत विद्यालयका विद्यार्थीहरू यस प्रकारका बिरामीबाट प्रभावित हुन थालेका छन्।
विद्यार्थीहरूमा रुघाखोकीसँगै उच्च ज्वरो आउने, घाँटी दुख्ने, शरीर रिगटा लाग्ने र जोर्नी दुख्ने जस्ता लक्षण देखिन थालेपछि विद्यालयको पठनपाठनसमेत प्रभावित भएको शिक्षकहरूले बताएका छन्। बिरामी परेका कारण केही विद्यार्थीहरू विद्यालय आउन नसक्ने अवस्था सिर्जना भएको छ।
यस्तो समस्या देखिएको जानकारी प्राप्त हुनासाथ सोरु गाउँपालिकाले तत्काल पहल गर्दै आज स्वास्थ्यकर्मीको टोली विद्यालयमा पठाएको छ। स्वास्थ्य शाखा प्रमुख चरित्र धामीका अनुसार बिरामी विद्यार्थीहरूको उपचारका लागि सामान्य औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाइएको हो।
अनमी उसा शाहीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले विद्यालयमै पुगेर २५ जनाभन्दा बढी विद्यार्थीहरूको स्वास्थ्य जाँच गरी सामान्य उपचार गरेको जानकारी शाहीले दिनुभयो। उहाँका अनुसार विद्यार्थीहरूमा मौसमी रुघाखोकीजस्तै देखिने लक्षणहरू देखिएको छ।
स्वास्थ्य शाखा प्रमुख धामीले यस्ता रोगहरूको यथार्थ पहिचान गर्न जिल्ला तथा प्रदेशस्तरमा आवश्यक समन्वय गरिने बताउनुभयो। साथै, आगामी दिनमा अन्य वडामा पनि यस्तै खालका बिरामी देखिएमा सम्बन्धित वडामा कार्यरत स्वास्थ्यकर्मी तत्काल पठाइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
विद्यालय जाने उमेरमै बालबालिका बिरामी पर्न थालेपछि अभिभावकहरू चिन्तित बनेका छन् भने समयमै उपचार र निगरानी आवश्यक रहेको स्थानीयहरूको भनाइ छ। स्वास्थ्यकर्मीहरूको सक्रियताले विद्यार्थीहरूमा केही राहत पुगेको भए पनि सतर्कता अपनाउनुपर्ने आवश्यकता अझै कायमै रहेको छ।

Leave a Reply