मुगु।सोरु गाउँपालिकामा पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।
आज सोरु गाउँपालिका, मुगुमा आयोजित उक्त बैठकमा पालिकाभित्र सञ्चालनमा रहेका तथा आगामी दिनमा सञ्चालन हुने विकास परियोजनाहरूको विषयमा विस्तृत छलफल गरिएको हो।
बैठकमा परियोजनाको प्रभावकारिता, पारदर्शिता, समुदायको सहभागिता तथा दीगो विकासका पक्षहरूमा केन्द्रित रही सल्लाह–सुझाव आदानप्रदान गरिएको बताइएको छ।
बैठकलाई सम्बोधन गर्दै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले विकास परियोजनाहरू जनताको आवश्यकता र प्राथमिकतामा आधारित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो—
“पालिका भित्र सञ्चालन हुने सबै परियोजना जनमुखी, पारदर्शी र दीगो बनाउने हाम्रो लक्ष्य हो, त्यसका लागि साझेदार संस्थासँगको सहकार्यलाई अझ मजबुत बनाइनेछ।”
यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्ण सेजुवालले परियोजनाको कार्यान्वयनमा जवाफदेहिता र समन्वय अत्यावश्यक रहेको बताउनुभयो। उहाँका अनुसार,
“पालिकाले विकास साझेदारहरूसँग सहकार्य गर्दै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउने र प्रतिफलमुखी नतिजा हासिल गर्ने प्रयास गरिरहेको छ।”
बैठकमा विकास साझेदार संस्था टियरफन्ड, अष्ट्रेलियन एड, टेरा टेक तथा इन्टरनेशनल नेपाल फेलोसिपका प्रतिनिधिहरूले हाल सञ्चालनमा रहेका कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा समेत पालिकासँग सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
गाउँपालिकाले आगामी दिनमा विकास परियोजनालाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सरोकारवाला निकायसँगको सहकार्यलाई थप सुदृढ बनाउने जनाएको छ।

