सोरू गाउँपालिका वडा नम्बर ६ मा १७७ जनालाई न्यानो कपडा वितरण

कर्णाली प्रदेश मुख्य समाचार स्वास्थ्य

बिनोद शाही,मुगु

सोरू गाउँपालिका वडा नम्बर ६ अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत बजेटबाट सञ्चालन गरिएको वडा अध्यक्षसँग अपाङ्ग, ज्येष्ठ नागरिक तथा एकल महिला कार्यक्रममा न्यानो कपडा वितरण गरिएको छ।
आज दिउसो वडा अध्यक्ष श्री बबरजंग शाहीज्यूले वडा भित्रका अपाङ्गता भएका ८ जना, एकल महिला ३५ जना, ज्येष्ठ नागरिक ५७ जना तथा क्षेत्र तोकिएका ज्येष्ठ नागरिक ७७ जना गरी जम्मा १७७ जना लाभग्राहीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको हो। प्रत्येक लाभग्राहीलाई १० मिटरका दरले सुती कपडा प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।
चिसो मौसमका कारण अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा एकल महिलाहरू बढी जोखिममा रहने भएकाले उनीहरूलाई राहत प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष शाहीले बताउनुभयो। उहाँले यस्ता सामाजिक सुरक्षामूलक कार्यक्रमले लक्षित समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
वडा नम्बर ६ का कार्यालय कर्मचारी कर्ण बहादुर शाहीका अनुसार वडा भित्रका वास्तविक लाभग्राहीहरूको पहिचान गरी पारदर्शी ढंगले कपडा वितरण गरिएको हो। उहाँले आगामी दिनमा पनि वडा कार्यालयले लक्षित वर्गलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जानकारी दिनुभयो।कार्यक्रमबाट लाभग्राहीहरूमा खुसीयाली छाएको छ।

Leave a Reply