मुगु — मुगुको सोरु गाउँपालिकामा आयोजित निःशुल्क मोतिबिन्दु आँखा शिबिर सम्पन्न भएको छ।
कार्तिक १८ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको उक्त शिबिर सोरु गाउँपालिकाको समन्वयमा, सुर्खेत आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक तथा औषधि सहयोगमा, साथै रुईत फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न भएको हो।
स्थानीयवासीका लागि यो शिबिरले ठूलो राहत पुर्याएको गाउँपालिकाले जनाएको छ। गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा बिरामीहरू अत्यन्त उत्साहित भएका छन्।
डा. सबिना पराजुलीका अनुसार शिबिरमा दुई दिनभित्र ६० जनाको मोतिबिन्दु शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो।
पहिलो दिन आइतबार ५३ जना (महिला ३१ र पुरुष २२) र दोस्रो दिन सोमबार थप ४ जना (महिला २ र पुरुष २) को अपरेसन गरिएको थियो। साथै एक बालिकाको सामान्य आँखाको उपचार पनि गरिएको उहाँले बताउनुभयो।
पहिलो दिन ५० जनाले ओपिडी सेवा लिएका थिए — तीमध्ये महिला १८ र पुरुष ३२ जना थिए। दोस्रो दिन ३२ जनाले सेवा लिएका मध्ये महिला १२ र पुरुष २० जना रहेका थिए।
डा. पराजुलीका अनुसार, १०० जनालाई नजिकको लेखपढका लागि आवश्यक चस्मा वितरण गरिएको र सबै बिरामीलाई आवश्यक औषधि निःशुल्क प्रदान गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिहराज डाँगीले उपचारका लागि आएका बिरामीहरूलाई यातायात र खानाको खर्च स्वरूप प्रतिव्यक्ति १ हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार, पालिकाका ११ वटै वडाका ७०० भन्दा बढी स्थानीय—बालबालिका, युवा र वृद्धवृद्धा—ले यस शिबिरबाट प्रत्यक्ष लाभ लिएका छन्।
दुर्गम भूगोल र असहज वातावरणका बाबजुद चिकित्सक टोलीले आवश्यक उपकरणसहित गाउँमै पुगेर सेवा प्रवाह गरेकाले स्थानीयहरूले समय र खर्च दुबै बचत भएको अनुभव व्यक्त गरेका छन्।
आँखा उपचारका लागि सुर्खेत वा नेपालगन्जजस्ता शहर पुग्ने बाध्यता हटेपछि गाउँमा “दृष्टि फर्किएको खुशी” छाएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रमको समापनका क्रममा गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही, उपाध्यक्ष केशरबहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत शिहराज डाँगीले बिरामीहरूलाई चस्मा र यातायात खर्च वितरण गर्दै स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्नुभयो।
उहाँहरूले उपचार टोली र सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता शिबिरहरूले गाउँमा स्वास्थ्य सचेतना र पहुँच वृद्धि गरेको बताउनुभयो।
यस निःशुल्क आँखा शिबिरमार्फत ६० जनाको सफल शल्यक्रिया, ७०० भन्दा बढीको ओपिडी सेवा र १०० जनालाई चस्मा वितरण गरिएको हो।
ग्रामीण भेगका सर्वसाधारणका लागि यो शिबिर दृष्टि मात्र होइन, स्वास्थ्यप्रतिको विश्वास र आत्मविश्वास पुनः जागृत गराउने अवसर बनेको सहभागीहरूले बताएका छन्।

