बुढीनन्दाको स्वास्थ्य शिविरबाट हजारौं बिरामी लाभान्वित

बुढीनन्दा नगरपालिका मुख्य समाचार सुदूरपश्चिम प्रदेश स्वास्थ्य

‎बाजुरा । बुढीनन्दा नगरपालिका तथा एक एक पाइला नेपालको सहयोगमा कोल्टी आधारभूत अस्पताल, बाजुरामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कुल ४ हजार २ दुई १९ जनाले उपचार सेवा पाएका छन्।

‎कार्तिक २४ देखि २६ गतेसम्म तीन दिन चलेको उक्त शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा १४३ जनाको आँखा (मोतिविन्दु) शल्यक्रिया र नाक, कान तथा घाँटीका १९ जनाको अपरेसन गरिएको छ। साथै १८० जनामा हड्डी खियको र जाली प्वाल परेको समस्या फेला परेको छ, जसको थप उपचार आवश्यक रहेको नाक, कान, घाँटी विशेषज्ञ डा. दिपेश शाक्य र डा. प्रशान्त त्रिपाठीले जानकारी दिनुभएको छ।

‎शिविरमा बालरोग, स्त्रीरोग तथा प्रसूति, छाला, दाँत, रेडियोलोजी, प्याथोलोजी, इन्डोस्कोपी र सामान्य शल्यक्रिया लगायतका सेवा प्रदान गरिएको थियो।

‎यस कार्यक्रमको आयोजना बुढीनन्दा नगरपालिकाको समन्वयमा र एक एक पाइला नेपालको सहकार्यमा गरिएको हो।

‎स्वास्थ्य शिविरबाट लाभान्वित भएकी सपना बमका श्रीमान् कर्ण बमले भन्नुभयो।“नेपालगञ्ज, काठमाडौं वा धनगढीमा उपचार गर्न लैजान लाखौँ रुपैयाँ खर्च हुने थियो, तर कोल्टीकै निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत दिएको छ,”भन्दै बुढीनन्दा नगरपालिका र एक एक पाइला नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो।

‎उक्त शिविरले बाजुरा, हुम्ला, मुगु र कालिकोटका हजारौं बिरामीलाई उपचार सेवा प्रदान गर्दै दुर्गम क्षेत्रका नागरिकको लाखौं रुपैयाँको खर्च जोगाएको देखिएको छ। स्थानीयवासीहरूले यस्ता स्वास्थ्य शिविरहरूले दुर्गम क्षेत्रमा जनतामा उपचारप्रति विश्वास र राहत दिएको प्रतिक्रिया दिएका छन्।

‎शिविरपछि कोल्टी आधारभूत अस्पतालको प्राङ्गणमा ‘फेरी भेटौंला’ कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा बुढीनन्दा नगरपालिका प्रमुख जनक बोहोराले एक एक पाइला नेपाल, गेँटा अस्पताल र निःशुल्क स्वास्थ्य शिविरमा योगदान दिने ३५ जना विशेषज्ञ चिकित्सकहरूलाई धन्यवाद दिंदै आगामी दिनमा पनि निरन्तर साथ–सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

‎त्यस अवसरमा कोल्टी अस्पतालले सबै चिकित्सकहरूलाई पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्दै बिदाइ गरेको थियो।शिविर सफल बनाउन योगदान दिने बुढीनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष शाह, स्वास्थ्य संयोजक ओमजङ शाही, र अस्पताल प्रमुख एम.डी.जी.पी. रञ्जित शाहलाई पनि नगरप्रमुख बोहोराले तालीले सम्मान गर्न आग्रह गर्नुभएको अस्पतालका सूचना अधिकारी प्रेम नेपालीले जानकारी दिनुभयो।अस्पतालमा बर्षेनी यस्ता शिबिर संचालन हुँदै आईरहेका छन् ।

Leave a Reply